भक्तपुर । बोडेमा जिब्रो छेड्ने तयारीमा रहेका सुजन बाग श्रेष्ठलाई बागमती प्रदेश सरकारले दुई लाख रुपैयाँ नगद सहयोग प्रदान गरेको छ । वैशाख २ गते चौथोपटक जिब्रो छेड्न लागेका श्रेष्ठलाई मंगलबार बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले नगदसहित सम्मान गरेका हुन् ।
मुख्यमन्त्री जोखिम संस्कृति संरक्षण तथा प्रवर्द्धन कार्यक्रमअन्तर्गत जिब्रो छेड्ने परम्परालाई निरन्तरता दिन प्रोत्साहनस्वरूप उक्त रकम प्रदान गरिएको संस्कृति तथा पर्यटन मन्त्री श्रेष्ठले जानकारी दिए ।
गत वर्षको इन्द्रजात्रामा आयोजित जिब्रो छेड्ने जात्रामा पहिलोपटक वीरेन्द्रभक्त गजु श्रेष्ठलाई उक्त पुरस्कार प्रदान गरिएको थियो ।
मन्त्री श्रेष्ठले जिब्रो छेड्ने परम्पराको निरन्तरताका लागि काम गर्ने व्यक्तिहरूको संख्या घट्दै गएकाले ऐतिहासिक जात्रालाई लोप हुन नदिन तथा लोपोन्मुख सांस्कृतिक सम्पदाका रूपमा संरक्षण गर्न वर्षमा दुई पटक आयोजना हुने जात्रामा सहभागी भई जिब्रो छेडाउने व्यक्तिलाई प्रोत्साहन रकमको व्यवस्था गरिएको बताए ।
मध्यपुर थिमीका दुई स्थानमा जिब्रो छेड्ने परम्परा रहेको छ । बोडेमा वैशाख २ गते जिब्रो छेडिन्छ भने थिमीको द्विगुटोलमा भाद्र शुक्ल चतुर्दशीका दिन जिब्रो छेड्ने गरिन्छ ।
यो जात्राले देशमा रोगव्याधि नलाग्ने, बालीनाली सप्रिने तथा अनिकालजस्ता प्राकृतिक विपत्तिबाट जोगिने जनविश्वास रहेको छ ।
बागमती प्रदेश संस्कृति तथा पर्यटन मन्त्रालयले मध्यपुर थिमीस्थित जिब्रो छेड्ने स्थानमै पुगेर सुजन बाग श्रेष्ठलाई सम्मान गरेको हो । कार्यक्रममा मध्यपुर थिमी नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ, पर्यटन कार्यालय काठमाडौंका प्रमुख पवन पोखरेल, वडा नं. ८ का अध्यक्ष रमेश थापा श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।