औषधी व्यवस्था विभागको निमित्त महानिर्देशकको जिम्मेवारी शिवानीलाई

काठमाडौं । औषधी व्यवस्था विभागको निमित्त महानिर्देशकको जिम्मेवारी शिवानी खड्गीलाई दिइएको छ । सरकारले मन्त्रीस्तरीय निर्णय गर्दै खड्गीलाई निमित्त महानिर्देशकको जिम्मेवारी दिएको हो । 

विभागका महानिर्देशक नारायणप्रसाद ढकाललाई औषधिको मूल्य बढाएको आरोपमा मन्त्रालय बोलाइएको छ । कानून विपरित औषधीको मूल्य निर्धारण गरेको आरोप लागेपछि आरोपबारे छानबिन गर्न मन्त्रालयले गत २७ चैतमा अतिरिक्त स्वास्थ्य सचिव डा. श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । 
समितिलाई यो विषयमा छानबिन गरी एक साता भित्र प्रतिवेदन बुझाउन भनिएको छ । खड्गी यसअघि बरिष्ठ औषधी व्यवस्थापकको रुपमा कार्यरत थिइन् । दशौँ तहकी खड्गी विभागमा हाल कार्यरत कर्मचारीहरू मध्ये सबैभन्दा वरिष्ठ हुन् । 

पत्रमा अर्कै व्यवस्था नहुँदासम्म महानिर्देशकले गर्ने आर्थिक तथा प्रशासनिक जिम्मेवारी सम्हाल्न भनिएको छ । आज पत्र पाएकी उनले नयाँ जिम्मेवारी सम्हालि सकेकी छन् ।  

Share News