काठमाडौं । नेपालको आँखा उपचार क्षेत्रमा विशिष्ट पहिचान बनाएको तिलगंगा आँखा प्रतिष्ठान र पूर्वाञ्चलको प्रतिष्ठित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (बीपीकेआईएचएस) बीच स्वास्थ्य सेवा, शिक्षा र अनुसन्धानमा सहकार्य गर्ने गरी सम्झौता भएको छ ।
बुधबार आयोजित एक विशेष समारोहका बीच तिलगंगाका कार्यकारी निर्देशक प्रा. डा. सन्दुक रुइत र बीपीकेआइएचएसका उपकुलपति प्रा.डा. विक्रमप्रसाद श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
सम्झौताले विशेषगरी पूर्वी नेपालको आँखा स्वास्थ्य सेवा र शैक्षिक गुणस्तरमा ठूलो परिवर्तन ल्याउने अपेक्षा गरिएको छ ।
तिलगंगाका विशेषज्ञ प्राध्यापकहरूले बीपीकेआइएचएसमा नियमित रूपमा आँखाका विभिन्न उप(विशेषज्ञता सेवाअन्तर्गत ओपिडी तथा शल्यक्रिया सेवा प्रदान गर्नेछन् ।
त्यस्तै, बीपीकेआइएचएसका रेसिडेन्ट डाक्टरहरूलाई तिलगंगाका उप–विशेषज्ञ क्लिनिकहरूमा क्लिनिकल पोस्टिङ्गको व्यवस्था गरिनेछ । साथै आरओपी स्क्रिनिङ्ग, लेजर र जटिल शल्यक्रियासम्बन्धी तालिम समेत प्रदान गरिनेछ ।
त्यस्तै, क्लिनिकल तथा सामुदायिक आँखा स्वास्थ्यका क्षेत्रमा बीपीकेआइएचएसलाई सहकार्यत्मक अनुसन्धान केन्द्रका रूपमा विकास गरी संयुक्त अनुसन्धानका कार्यक्रमहरू सञ्चालन गरिनेछ ।
दुवै संस्थाका प्राध्यापकहरूबीच ‘फ्याकल्टी डेभलपमेन्ट’ तालिम र शैक्षिक कार्यक्रमहरू आदानप्रदान हुनेछन् ।
पूर्वी क्षेत्रका अन्य आँखा अस्पतालहरूलाई समेत सहभागी गराई नियमित चिकित्सकीय शिक्षा कार्यक्रम र आँखा जाँच तथा शल्यक्रिया शिविरहरू आयोजना गरिनेछ ।
हस्ताक्षर कार्यक्रममा बोल्दै प्रा. डा. सन्दुक रुइतले यो सहकार्यले विशेषज्ञ सेवालाई राजधानी बाहिर विस्तार गर्न र अनुसन्धानको माध्यमबाट नयाँ तथ्यहरू उजागर गर्न मद्दत पुग्ने बताए ।
त्यस्तै, उपकुलपति प्रा. डा. विक्रम प्रसाद श्रेष्ठले देशकै दुई ठूला संस्थाहरूको मिलनले स्वास्थ्य शिक्षा र सेवा प्रवाहमा नयाँ इँटा थप्ने विश्वास व्यक्त गरे ।
यो साझेदारीले नेपालको स्वास्थ्य क्षेत्रमा संस्थागत सहकार्यको उत्कृष्ट नमूना पेश गर्दै दीर्घकालीन रूपमा सर्वसाधारणलाई सुलभ र गुणस्तरीय आँखा उपचार सुनिश्चित गर्ने लक्ष्य राखेको छ ।