काठमाडौं । नेपालमा एसर ल्यापटप र एप्सन प्रिन्टरको आधिकारिक विक्रेता मर्केन्टाइल अफिस सिस्टम प्रालि र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहक तथा कर्मचारीलाई विशेष छुट उपलब्ध गराउने सम्झौता भएको छ ।
सम्झौतापत्रमा मर्केन्टाइल अफिस सिस्टमका तर्फबाट कार्यकारी निर्देशक सूरज क्षेत्री तथा प्रभु बैंकका तर्फबाट मार्केटिङ म्यानेजर सबिन शमशेर ज.ब.रा. राणाले हस्ताक्षर गरेका हुन् ।
सम्झौताअनुसार प्रभु बैंकका कर्मचारीले एसर ल्यापटप र एप्सन प्रिन्टर खरिद गर्दा अधिकतम १८ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् भने बैंकका ग्राहकले ८ प्रतिशतदेखि १५ प्रतिशतसम्म छुट पाउनेछन् । साथै, क्रेडिट कार्ड प्रयोगकर्ताले ‘इन्स्टापे’मार्फत किस्ताबन्दी सुविधासमेत लिन सक्नेछन् ।
उक्त छुट सुविधा नेपालमा एसर ल्यापटप र एप्सन प्रिन्टरका आधिकारिक विक्रेता मर्केन्टाइल अफिस सिस्टम प्रालिबाट प्राप्त गर्न सकिने जनाइएको छ ।
प्रभु बैंकले हाल देशभर फैलिएका ३१२ शाखा कार्यालय, २८५ एटीएम तथा ६८ एक्सटेन्सन काउन्टरमार्फत करिब ३६ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ तथा वित्तीय सेवा प्रदान गर्दै आएको छ । बैंकले ‘विश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मूल नारासहित गुणस्तरीय सेवा प्रवाह गर्दै आएको जनाएको छ ।