काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेडले बुक बिल्डिङ विधिमार्फत आईपीओ निष्कासन गर्ने भएको छ । बुक बिल्डिङ विधिमार्फत आईपीओ निष्काशन प्रक्रियाका लागि कम्पनीले योग्य संस्थागत लगानीकर्तासँग छलफल (रोड शो) कार्यक्रम आयोजना गर्ने भएको हो ।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त योग्य संस्थागत लगानीकर्ताहरूलाई सहभागी गराई आशय मूल्य निर्धारणका लागि छलफल गर्न लागेको जनाएको छ । बुक बिल्डिङ निर्देशिका, २०७७ अनुसार आयोजना हुने उक्त कार्यक्रममा लगानीकर्ताबाट प्रारम्भिक विवरणपत्रमाथि सुझावसमेत संकलन गरिने जनाएको छ ।
उक्त छलफल कार्यक्रम वैशाख ११ गते शुक्रबार दिउँसो ३ बजे काठमाडौंको म्यारियट होटलमा आयोजना हुने कम्पनीले जनाएको छ ।
कार्यक्रममा सहभागी हुने संस्थागत लगानीकर्ताहरूले धितोपत्र खरिद गर्न चाहेको न्यूनतम संख्या, प्रस्तावित मूल्य तथा मूल्याङ्कनको आधार प्रस्तुत गर्नुपर्नेछ । साथै, प्रारम्भिक विवरणपत्रमा सुझाव भए सो समेत पेश गर्न सकिनेछ ।
कम्पनीका अनुसार आवश्यक कागजातहरूमा प्रारम्भिक विवरणपत्र तथा पछिल्ला तीन वर्षको लेखापरीक्षण भएको वित्तीय विवरण समावेश छन् । उक्त विवरणहरू कम्पनीको वेबसाइट तथा धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेडको वेबसाइटमार्फत उपलब्ध हुनेछन् ।
नर्भिक इन्टरनेशनल हस्पिटलले सर्वसाधारणका लागि चुक्ता पुँजीको २० प्रतिशत अर्थात् २५ लाख कित्ता सेयर बिक्री गर्ने जनाएको छ ।