काठमाडौं । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबावु महर्जनले देशको विकास र समृद्धिमा वर्तमान ‘सार्वजनिक खरिद ऐन २०६३’ मुख्य बाधक रहेको बताएका छन्।
अर्थ मन्त्रालयमा बिहीबार (आज) आयोजित अन्तर–सरकारी वित्त परिषद्को बैठकमा बोल्दै उनले उक्त ऐनमा तत्काल संशोधनको माग गरेका हुन् ।
मेयर महर्जनले देश अहिलेको आर्थिक र भौतिक अवस्थामा आइपुग्नुमा खरिद ऐनको ठूलो भूमिका रहेको टिप्पणी गरे ।
विशेषगरी ललितपुर जस्तो सम्पदाको सहरमा समेत यही झन्झटिलो ऐन अनुसार काम गर्नुपर्दा प्राचीन वैभवको संरक्षण र पुनर्निर्माणमा बाधा पुगेको उनको तर्क थियो ।
उनले भने, ‘ठेकेदारहरूले काम पाउने बेलासम्म अनेक प्रयत्न गर्छन्, तर काम सुरु गरेपछि समयमा सम्पन्न गर्दैनन् । वर्तमान खरिद ऐन अनुसार काम गर्दा ठेकेदारलाई जति धेरै काम गर्यो त्यति नै घाटा हुने अवस्था छ, जसले गर्दा समयमै काम नगर्ने परिपाटी मौलाएको छ ।’
बैठकमा मेयर महर्जनले मुलुकको खर्च गर्ने प्रणाली र कार्यक्षमतामा सुधार ल्याउन आर्थिक वर्ष नै परिवर्तन गर्नुपर्ने सुझाव दिएका छन् ।
असारे विकासको प्रवृत्तिलाई रोक्न र बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन समयरेखा बदल्नुपर्ने उनको धारणा थियो ।
सहकारी क्षेत्रमा देखिएको संकटका बारेमा बोल्दै महर्जनले ललितपुर महानगरपालिकामा सहकारी पीडितको समस्या तुलनात्मक रूपमा कम रहेको दाबी गरे ।
तत्कालीन समयमा जथाभाबी सहकारी संस्था दर्ता नगर्ने अठोट लिएकै कारण अहिले धेरै ठुलो दुर्घटनाबाट जोगिएको उनले बताए ।
‘अहिले देशभरका स्थानीय तहमा सहकारी पीडितहरू धर्ना बसिरहेका छन्, तर हामीले सुरुदेखि नै अपनाएको कडा नीतिले ललितपुरमा यो समस्या न्यून छ, उनले भने ।