युएई जाने नेपालीको पासपोर्टमा ‘काम गर्न मनाही’ लेख्नेलाई अध्यागमन विभागले कारवाही गर्ने

काठमाडौं । अध्यागमन विभागले भिजिट भिसामा युनाइटेड अरब इमिरेट्स (यूएई) जानेको पासपोर्टमा ‘काम गर्न मनाही’ लेख्नेलाई कारबाही गर्ने भएको छ । 

विभागले बिहीबार (आज) विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएको हो ।

‘कुनै पनि नेपाली नागरिकलाई कानुनभन्दा बाहिर गई सर्त तोकेर प्रस्थान अनुमति दिने अध्यागमन प्रशासनको कुनै नीति वा निर्णय नभएको हुँदा प्रचलित कानुन र विभागीय निर्णयबाहिर गई गैरकानुनी अभ्यास गर्ने कर्मचारीलाई कारबाहीको लागि आन्तरिक छानबिनको प्रक्रिया अगाडि बढाइएको बेहोरा जानकारीका लागि अनुरोध गरिन्छ,’ विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यूएई प्रस्थान गर्न लागेका नेपाली नागरिकको राहदानीमा प्रस्थान छापसँगै ‘रोजगारी कडाइका साथ निषेध गरिएको छ’ लेखेको भनी सार्वजनिक भएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको विभागले जनाएको छ ।

‘आजको दिनमा धेरै नेपालीहरूको विदेश यात्रा रहर र राम्रो अवसरको खोजी मात्र नभई बाध्यता समेत भएको यथार्थ हामी सबैलाई अवगत नै छ । नागरिकको यही बाध्यतालाई लिएर विभिन्न तहमा हुने गरेका ठगी र शोषण नियन्त्रण गर्न अध्यागमन प्रशासनले आफ्नो तर्फबाट सक्दो प्रयास गरिरहेको छ,’ विज्ञप्तिमा उल्लेख छ । 

भिजिट भिसामा नेपालबाट प्रस्थान गर्ने नेपाली नागरिकहरूको सन्दर्भमा कम्तीमा ६ महिना वैध अवधि भएको राहदानी, गन्तव्य मुलुकसम्मको हवाई टिकट र सम्बन्धित मुलुकको भिसा भएमा स्वघोषणासहित विदेश जान पाउने गरी प्रस्थानलाई सरलीकृत र व्यवस्थित बनाइएको दाबी विभागको छ । 

‘विभागले यात्रुहरूको आगमन र प्रस्थानलाई झन्झटरहित बनाउन नीतिगत सहजीकरण र अध्यागमन प्रणालीलाई थप आधुनिकीकरण गरी राष्ट्रिय सुरक्षाको सुदृढीकरणका क्षेत्रमा समेत काम गरिरहेको छ, विज्ञप्तिमा बताइएको छ ।

null

Share News