सार्वजनिक यातायातको भाडा बढाउन यातायात व्यवसायीको माग

काठमाडौं । नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघले सार्वजनिक यातायातको भाडा मूल्य वृद्धि गर्न माग गरेका छन् । 

बिहीबार महासंघले विज्ञप्ति जारी गर्दै नेपाल सरकारले २०६५ सालदेखि लागू गरेको वैज्ञानिक विधि अनुरुप स्वचालित प्रणालीबाट ५ प्रतिशत पेट्रोलियम पदार्थको मूल्य बृद्धी हुँदा भाडा समायोजन गरिदिन माग गरेका हुन् । पेट्रोलियम पदार्थमा बढेको मूल्यवृद्धिसमेत फिर्ता लिन अनुरोध गरेका छन् ।
विषम परिस्थितिको मूल्याकंन गर्दै देशभर सेवा संचालन गर्ने महासंघ सदस्य संघ, समिती र कम्पनीहरुले पेट्रोलियम पदार्थको खपत कम गर्न र सेवा संचालन गर्दा हुने घाटालाई न्यूनीकरण गर्न व्यवसायी बिच एकता र सहकार्य गर्नुपर्ने संघको भनाइ छ । 

नेपाल सरकारबाट तोकिएको भाडा लिएर अस्वस्थ प्रतिस्पर्धा नगरी दैनिक यात्रुको चापका आधारमा मात्र सेवा संचालन गर्न सदस्य संस्थाहरुलाई संघले अनुरोध गरेको छ ।

नेपाल सरकारको स्वामित्व रहेको नेपाल आयल निगमबाट मूल्यबृद्धिको सट्टा वैकल्पिक व्यवस्था मिलाउन संघले माग गरेको छ ।

मध्यपूर्वमा अमेरिका, ईजरायल र ईरान बिचको द्वन्दका कारण आयल नियमले पटक पटक गरेर डिजेल र पेट्रोलमा भारी मूल्य बृद्धी गर्दा यातायात क्षेत्रमा संचालन हुने यात्रुवाहक सवारी साधन र मालवाहक सवारी साधन संचालन गर्न कठिन अवस्था सृजना भएको विज्ञप्तिमा बताइएको छ ।

Share News