काठमाडौं । दक्षिण कोरियाबाट फर्केका नेपाली कामदारहरूलाई स्वदेशमै उद्यमशील बनाउन र उनीहरूको स्थायी व्यवस्थाका लागि कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) ले २.५ मिलियन अमेरिकी डलर (करिब ३७ करोड ३२ लाख रुपैयाँ) सहयोग उपलब्ध गराउने भएको छ ।
कोइका, कृषि विकास बैंक (एडीबीए) र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको रोहबरमा बिहीबार यससम्बन्धी रणनीतिक वित्तीय सहयोग कार्यक्रमको औपचारिक सुरुवात गरिएको छ ।
‘नेपालमा कोरियाबाट फर्केका आप्रवासी कामदारहरूको स्थिर पुनर्मिलनका लागि चरणबद्ध सहयोग प्रणाली सुदृढीकरण’ परियोजना अन्तर्गत यो सम्झौता भएको हो ।
यस कार्यक्रमले कोरियाबाट फर्केर उद्यम गर्न चाहने र कोइकाको उद्यमी तालिम पूरा गरेका व्यक्तिहरूलाई लक्षित गरेको छ ।
परियोजनाको कुल बजेट ८ मिलियन (१.२ अर्ब नेपाली रुपैयाँ) अमेरिकी डलर रहेको छ । कोइकाले उपलब्ध गराउने २.५ मिलियन डलर रकम ऋणीहरूको ब्याज अनुदानका लागि मात्र प्रयोग गरिनेछ ।
कृषि विकास बैंकले ऋण लगानीका लागि करिब १.२ अर्ब नेपाली रुपैयाँ बराबरको पुँजी छुट्याएको छ । यसबाट करिब २०० देखि २५० जना उद्यमीले लाभ पाउने अपेक्षा गरिएको छ ।
प्रति व्यक्ति औसत ५० लाख रुपैयाँसम्म ऋण प्रवाह हुने प्रक्षेपण गरिएको कोइकाले जनाएको छ ।
कोइका नेपालका कन्ट्री डाइरेक्टर मुहुन कोङका अनुसार यो कार्यक्रम कोरियामा सिकेको सीप र अनुभवलाई नेपालको आर्थिक विकासमा जोड्न डिजाइन गरिएको हो । तालिम प्राप्त व्यक्तिहरूलाई मात्र ऋणमा पहुँच दिइने भएकाले व्यवसाय सफल हुने सुनिश्चितता रहने उनी बताउँछन् ।
त्यस्तै, श्रम मन्त्रालयका सहसचिव कृष्ण सापकोटाले यो परियोजनाले सीप विकास र वित्तीय साक्षरतामा सफलता पाएको उल्लेख गर्दै अबको वित्तीय पहुँचले कामदारहरूलाई वास्तविक अर्थमा उद्यमी बनाउने विश्वास व्यक्त गरे ।
कृषि विकास बैंकका नायब महाप्रबन्धक सुदीप दाहालले बैंक उद्यमशीलता विकास र युवा रोजगारी सिर्जनाका लागि पूर्ण प्रतिबद्ध रहेको र यो कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्ने बताए ।
कोरियाली सरकारको यो सहयोगले फर्किएका कामदारहरूलाई रोजगारी खोज्नेबाट ‘रोजगारी दिने’ का रूपमा रूपान्तरण गर्ने लक्ष्य राखेको छ ।
सन् १९९१ देखि नेपालको विकास साझेदार रहेको कोइकाले स्वास्थ्य, शिक्षा, कृषि, र सूचना प्रविधि लगायतका क्षेत्रमा सन् २०२५ सम्म २०० मिलियन डलरभन्दा बढी सहयोग गरिसकेको छ ।
हालसम्म करिब २ हजार ९२१ स्वयंसेवकले नेपालमा सेवा गरिसकेका छन् भने २ हजार २३० भन्दा बढी नेपाली सरकारी अधिकारीहरूले कोरियामा तालिम प्राप्त गरिसकेका छन् । यो नयाँ वित्तीय साझेदारीले दुई देशबीचको सम्बन्धलाई श्रम आप्रवासनबाट दिगो आर्थिक एकीकरणतर्फ थप उचाइमा पुर्याएको छ ।