काठमाडौं । संघीय संसद् अन्तर्गतका संसदीय समितिहरूले पूर्णता पाएका छन् । शुक्रबार १२ वटा संसदीय समितिको सभापति चयन भएसँगै समितिहरूले पूर्णता पाएका हुन् । शुक्रबार १० वटा समितिमा सर्वसम्मत रूपमा सभापति चयन भएको घोषणा गरीएको हो । दुई वटा समितिले भने मतदान प्रक्रियाबाट नेतृत्व टुंग्याएका छन् ।
सर्वसम्मत रूपमा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति अशोककुमार चौधरी, पूर्वाधार विकास समिति सभापति आशिष गजुरेल, महिला तथा सामाजिक मामिला समिति सभापति आकृति अवस्थी निर्वाचित भए ।
संसदीय सुनुवाइ समिति सभापतिमा बोधनारायण श्रेष्ठ, उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिमा रहबर अन्सारी, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति सभापतिमा सुम्निमा उदास तथा अर्थ समिति सभापतिमा कृष्णहरि बुढाथोकी सर्वसम्मत चयन भएका छन् । यी सबैै निर्वाचित सभापतिहरु राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरु हुन् ।
सार्वजनिक लेखा समिति सभापतिमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका भरत खड्का सर्वसम्मत रूपमा निर्वाचित भएका छन् । रास्वपाको समर्थन प्राप्त गरेका खड्काको एकल उम्मेदवारी परेको थियो ।
बाँकी दुई समितिमा भने प्रतिस्पर्धा भएको थियो । राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको सभापतिका लागि रास्वपाका गणेश कार्की र नेपाली कम्युनिस्ट पार्टीकी मदनकुमारी शाह गरिमा बीच प्रतिस्पर्धा भएकोमा रास्वपाको बहुमतका आधारमा कार्की निर्वाचित भएका हुन् ।
प्रतिनिधिसभाअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिका लागि रास्वपाकी ओजस्वी शेरचन र नेकपा एमालेका गुरुप्रसाद बरालबीच प्रतिस्पर्धा भएको थियो । यसमा पनि रास्वपाकै बहुमतका कारण शेरचन विजयी भइन् ।