काठमाडौं । कैलालीको धनगढी गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले सय दिनको प्रगति विवरण सार्वजनिक गरेको छ । जसमा सबैभन्दा पहिलो प्रमुख उपलब्धी विश्वविद्यालयको उपकुलपति र रजिष्टार नियुक्तिलाई राखिएको छ ।
यस विश्वविद्यालयको उपकुलपति प्रा.डा. सुनिलकुमार जोशी र रजिष्ट्रार डा. खेमराज जोशीलाई नियुक्त गरी विश्वविद्यालयको प्रशासनिक संरचना व्यवस्थित बनाउने काम अघि बढाइएको जनाएको छ ।
यस्तै, पूर्वाधार तथा प्राविधिक विकासतर्फ विश्वविद्यालयको आधिकारिक वेबसाइट निर्माण गरिएको, परिसर सरसफाइ तथा व्यवस्थापन, केन्द्रीय प्रशासनिक भवन र आवास व्यवस्थापनमा सुधार गरिएको उल्लेख छ भने शैक्षिक कार्यक्रम सञ्चालन अन्तर्गत पाठ्यक्रम निर्माण कार्य तीव्र बनाइएको छ ।
एमबीबीएस, बीडीएस, बीएससी नर्सिङ, बीपीटी, बी फार्मेसी, बीपीएच र बी अप्टोमेट्री लगायत कार्यक्रम सञ्चालनको तयारी गरिएको छ । आगामी शैक्षिक सत्रदेखि एमबीबीएस ५० सिट, नर्सिङ ३०, बीएससी एमएलटी २० सिट र बी अप्टोमेट्री २० सिट सञ्चालन गर्ने लक्ष्य राखिएको छ । यसका लागि चिकित्सा शिक्षा आयोगमा सेल्फ–एप्रेजल फारम समेत पेश गरिएको छ ।
यस्तै, नीतिगत तथा संस्थागत विकासअन्तर्गत शिक्षक तथा कर्मचारी नियमावली, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धी नियमावली लगायत विभिन्न मस्यौदा तयार पारिएको छ । खरिद, अनुसन्धान केन्द्र, विषय समिति तथा संगठन संरचनासम्बन्धी नियमावली निर्माण प्रक्रियामा रहेका छन् ।
मानव संसाधन व्यवस्थापनतर्फ ७७ जना प्राध्यापक, सहप्राध्यापक तथा उपप्राध्यापक पदका लागि विज्ञापन प्रकाशित गरिएको छ भने करार शिक्षक छनोट कार्यविधि पनि तयार गरिएको उल्लेख छ ।
वित्तीय व्यवस्थापनतर्फ चालु आर्थिक वर्षका लागि ४९ करोड १३ लाख बजेट विनियोजन भएको छ भने आगामी वर्षका लागि २ अर्ब ५३ करोडको प्रस्तावित बजेट तयार गरिएको छ । साथै विभिन्न स्रोतबाट आय सुनिश्चित गर्ने पहल भइरहेको विश्वविद्यालयले जनाएको छ ।


