काठमाडौं । कास्कीको पोखरा महानगरपालिका-२७ तालचोकस्थित हिमालीटोलबाट प्रहरीले जुवा खेलिरहेको अवस्थामा ९ जनालाई पक्राउ गरेको छ ।
बिहीबार (हिजो) अपराह्न विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई रङ्गेहात नियन्त्रणमा लिएको हो ।
इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको टोलीले बिहीबार ४:४५ बजेको समयमा जुवाको खालमा छापा मारेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
प्रहरीले घटनास्थलबाट जुवाको खालमा प्रयोग भएको नेपाली ६७ हजार ५६० रुपैयाँ, अमेरिकी ११२ डलर, अष्ट्रेलियन २४० डलर तथा तास ४ बुक बरामद गरेको छ ।
पक्राउ परेका ९ जनामाथि जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसूर अन्तर्गत जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने मुद्दामा अनुसन्धानका लागि ६ दिनको म्याद थप गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीले घटनाबारे थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जानकारी दिएको छ ।