सीमापार तस्करी नियन्त्रणका लागि गृहमन्त्री र सांसदहरूबीच छलफल

काठमाडौं । सीमा क्षेत्रमा भइरहेको तस्करी नियन्त्रण र सीमा व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले शुक्रबार ( आज ) गृह मन्त्रालयमा छलफल सम्पन्न भएको छ । गृहमन्त्री सुधन गुरुङ र मधेश तथा लुम्बिनी प्रदेशका प्रतिनिधि सभा सदस्यहरूबीच सो विषयमा केन्द्रित रहेर संवाद भएको हो ।

छलफलका क्रममा सांसदहरूले सीमा क्षेत्रका वस्तुस्थिति प्रस्तुत गर्दै तस्करी नियन्त्रणका विद्यमान भन्सार प्रणालीमा सुधार गर्ने र आवश्यकता अनुसार भन्सार दरको पुनरावलोकन गर्नुपर्ने, सीमा नाकाहरूमा प्रभावकारी निगरानी तथा अनुगमनका लागि थप बलियो संयन्त्र विकास गर्नुपर्ने, किसानहरूलाई आवश्यक पर्ने कृषि सामग्री तथा मलखादको भन्सार प्रक्रियालाई सरलीकृत गरिनुपर्ने तथा सीमा क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई दैनिक उपभोग्य सामग्री आयातमा निश्चित मापदण्ड तोकी भन्सार छुटको व्यवस्था गर्नुपर्नेमा जोड दिएका थिए । 

छलफलमा उठेका विषयवस्तुहरूलाई सम्बोधन गर्दै गृह मन्त्रालयले आफ्ना क्षेत्राधिकार भित्रका सवालहरू तत्काल कार्यान्वयनमा लैजाने प्रतिबद्धता जनाएको छ । गृह मन्त्रालयसँग सम्बन्धित विषयहरू मन्त्रालयले कार्यान्वयन गर्नेछ भने अर्थ मन्त्रालयसँग जोडिएका विषयहरूमा आपसी समन्वय र थप छलफलमार्फत् समाधान खोजिने बताइएको छ । 

Share News