शुक्रबार पनि केही जिल्लामा वर्षा, अब तराई क्षेत्रमा तातो बढ्ने

काठमाडौं । शुक्रबार ( आज) पनि मौसम बदली भई देशका विभिन्न क्षेत्रमा वर्षा भएको छ । कतैकतै तातो बढिरहेका बेला शुक्रबार पनि केही जिल्लामा मध्यमसम्म वर्षा भएको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीले अझै केही दिन कोशीलगायत केही क्षेत्रमा मौसम बदली भइरहने र तराईका क्षेत्रमा तातो बढ्ने जानकारी दिए ।

उनले मौसम छिनछिनमै परिवर्तन भइरहने भएकाले आधिकारिक सूचनाबारे जानकारी राख्न अनुरोध पनि गरे । उनले भने,  ‘मधेस प्रदेशलगायत तराई क्षेत्रमा तापक्रम बढ्ने छ, तर कोशीलगायत उच्च पहाडी तथा हिमाली क्षेत्रमा भने बदली रहने छ ।’

उनका अनुसार शुक्रबार पछिल्लो तीन घण्टामा चितवनमा २२.६, तनहुँमा २५.८, कास्कीमा १४, लमजुङमा ८.८, नवलपरासीपूर्वमा २० मिलीमिटर वर्षा भएको छ । शुक्रबारखोटाङमा पनि दिउँसो २५ मिलीमिटर वर्षा भएको थियो ।

शनिबार कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशको पहाडी र हिमाली भूभागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा र हिमपातको  सम्भावना रहेको छ ।

यता मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईलगायत अन्य केही भूभागमा तातो दिन हुने सम्भावना रहेको जनाइएको छ । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।

Share News