सर्वोच्चको फैसला स्वीकार गर्दै कांग्रेसले गर्‍यो एकताको अपिल

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको आधिकारिकता सम्बन्धी मुद्दामा सम्मानित सर्वोच्च अदालतले दिएको फैसला स्वीकार गर्ने बताएका छन् ।

उनले उक्त फैसला कसैका लागि पनि हार वा जीतको विषय नभएको स्पष्ट पार्दै यसलाई प्रतिस्पर्धाको रूपमा व्याख्या नगर्न आग्रह गरेका छन् ।

पौडेलले यस्तो व्याख्याले पार्टी एकता खल्बलिन सक्ने भएकाले सबै नेता तथा कार्यकर्तालाई सचेत र सजग रहन अपिल गरेका छन् ।

महामन्त्री पौडेलले अब सम्पूर्ण नेता, कार्यकर्ता तथा शुभेच्छुकहरू चारतारे झण्डामुनि पुनः एकताबद्ध भएर आगामी १५औं महाधिवेशनतर्फ अघि बढ्नुपर्ने आवश्यकता औंल्याएका छन् ।

उनले सबैलाई सुरक्षित आभास हुने वातावरण निर्माण गर्दै पार्टीलाई सुदृढ बनाउन सक्रिय हुन आग्रह गरेका छन् ।

Share News