मरेको कुखुराको मासु खाँदा दाजुभाइको मृत्यु, आमाछोरा उपचाररत

काठमाडौं । कैलालीमा फार्ममा मरेको ब्रोइलर कुखुराको मासु खाँदा दुई बालकको मृत्यु भएको छ भने आमाछोरा उपचाररत रहेका छन् ।

जिल्लाको चुरे गाउँपालिका–३ फाल्टुडेका एकै परिवारका चार जना वैशाख ३ गते मरेको कुखुराको मासु खाएपछि बिरामी परेका थिए । तीमध्ये ५ वर्षीय दीपक ताम्राकार र ८ वर्षीय भीम ताम्राकारको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

मासु खाएका २८ वर्षीया आमा राधिका ताम्राकार र उनका ३ वर्षीय छोरा दिपेश ताम्राकार भने हाल उपचाररत छन् । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाश विष्टका अनुसार घटना बिहीबार भएको भए पनि प्रहरीलाई शुक्रबार मात्र जानकारी दिइएको हो । त्यसपछि प्रहरीको समन्वयमा चारै जनालाई उपचारका लागि अस्पताल पुर्याइएको थियो ।

घटनापछि स्थानीय कुखुरा फार्म सञ्चालकमाथि अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । प्रारम्भिक बयानमा फार्म सञ्चालकले कुखुरा मरेकोबारे आफूलाई जानकारी नभएको बताएका छन् । उनलाई आवश्यक परे पुनः उपस्थित हुने सर्तमा छाडिएको प्रहरी निरीक्षक विष्टले जानकारी दिए ।

Share News