यस्ता छन् रास्वपा केन्द्रीय समिति बैठकका प्रस्ताव

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय समितिको भोलि सोमबार हुने बैठकका लागि विस्तृत कार्यसूची प्रस्ताव गरिएको छ । संगठनात्मक समीक्षा, पदाधिकारी मनोनयनदेखि नीति तथा विधि सुधारसम्मका विषयहरू समेटेर ९ बुँदे एजेन्डा तयार गरिएको प्रवक्ता मनिष झाले जारी प्रेस नोटमा बताइएको छ ।

प्रस्तावित कार्यसूचीअनुसार बैठकको प्रारम्भमा पार्टी गतिविधिबारे समग्र रूपमा ब्रिफिङ गरिनेछ । त्यसपछि २० जना केन्द्रीय सदस्यले दुई–दुई मिनेटका दरले आफ्नो रिपोर्टिङ प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

बैठकमा केन्द्रीय समिति पदाधिकारी मनोनयनसम्बन्धी विषयलाई पनि प्रमुख एजेन्डाका रूपमा समावेश गरिएको छ । त्यस्तै आगामी महाधिवेशनसँग सम्बन्धित कार्यविधिको मस्यौदा पनि छलफलमा ल्याइनेछ ।

पार्टीको विधान संशोधनसम्बन्धी विषयलाई समेत बैठकको प्राथमिक एजेन्डामा राखिएको झाले जारी गरेको प्रेस नोटमा बताइएको छ । यससँगै स्थानीय तह निर्वाचनका लागि उम्मेदवार, क्लब गठन तथा आवेदन आह्वानसम्बन्धी प्रस्तावमाथि पनि छलफल हुने जनाइएको छ ।

त्यस्तै प्रवासमा रहेका नेपालीलाई विदेशबाटै मतदानको अधिकार दिने विषयमा नीतिगत छलफल गर्ने तयारी गरिएको छ, जसलाई पार्टीको दीर्घकालीन राजनीतिक सुधारसँग जोडेर हेरिएको छ ।

बैठकमा सचिवालयका निर्णयहरूको अनुमोदन पनि गरिने जनाइएको छ ।

विविध शीर्षकअन्तर्गत विभिन्न आयोग तथा निकायबाट प्राप्त पत्राचारमाथि छलफल, विषयगत विभागहरूको योजना तयारी तथा नीति निर्माणसम्बन्धी निर्देशन, र संसदीय दलको विधान संशोधनसम्बन्धी विषयहरू पनि समेटिएका छन् ।

Share News