१ हजार घरलाई पुग्ने गरी ४३ लाखमा बन्दैछ लिफ्ट खानेपानी आयोजना

काठमाडौं । पर्वतको मोदी गाउँपालिकामा पहिलोपटक बोरिङमार्फत लिफ्ट गरी खानेपानी आयोजना सुरु गरिएको छ । गाउँपालिकाको आर्थिक सहयोग र गण्डकी प्रदेश सरकारको सहकार्यमा रतीखोला-तिलाहार बोरिङ/लिफ्ट खानेपानी आयोजनाको काम आइतबारदेखि सुरु गरिएको हो ।

सो आयोजना सम्पन्न भएपछि लामो समयदेखि खानेपानी समस्या भोग्दै आएका मोदी गाउँपालिका-६ तिलहार, थामर्जुङ र दराक क्षेत्रमा सहज हुने अपेक्षा गरिएको छ । बस्तीभन्दा तल रहेको रतीखोला किनारबाट बोरिङमार्फत पानी उत्खनन गरिने भएको छ । उत्खनन गरिएको पानी भन्डै एक किलोमिटरमाथि डाँडामा ट्याङ्की निर्माण गरी लिफ्टमार्फत तानेर घरघरमा वितरण गरिने मोदी गाउँपालिकाका उपाध्यक्ष विमल लामिछानेले बताए ।

यो आयोजनाबाट १ हजार घरपरिवारलाई खानेपानीको सुविधा विस्तार गर्ने योजना रहे पनि तत्कालका लागि अति समस्यामा परेका २०० घरपरिवारमा विस्तार गरिने भएको छ । आयोजनाका लागि मोदी गाउँपालिकाको २५ लाख रुपैयाँ, गण्डकी प्रदेश सरकारको १५ लाख रुपैयाँ र उपभोक्ताका ३ लाखको श्रमदान गरी कुल ४३ लाख रुपैयाँ लागतमा सम्पन्न हुने जनाइएको छ ।

बोरिङ गरेको स्थानभन्दा ३०० मिटरमाथि रहेको देउराली, मणी र पहरे गरी तीन स्थानमा निर्माण गरिएका ट्याङ्कीमा पानी जम्मा गरी घरघरमा वितरण गरिने छ । मुख्य ट्याङ्की ३० हजार लिटर र बाँकी दुइवटा शाखा ट्याङ्की १ हजार ५०० लिटर क्षमताको बनाइएको छ । आजभन्दा १८ महिनाअघि गरिएको सर्वेक्षणमा १२० मिटर गहिराइमा पानी रहेको पत्ता लागेको थियो । जसअनुसार गाउँपालिकाले गरेको बोलपत्र आव्हानमा रिमाल बोरिङ लिमिटेडले निर्माणको जिम्मा पाएको छ । 

चालु आर्थिक वर्षभित्रै सबै घरमा खानेपानी विस्तार सम्पन्न गरिसक्ने गरी काम सुरु गरिएको मोदी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पुरीले बताए । 

Share News