काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आज विश्वविद्यालय तथा प्रतिष्ठानका उपकुलपतिहरूसँग छलफल गर्ने भएका छन्। यो बैठक आज दिउँसो १२ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ । प्रधानमन्त्री कुलपति रहने ११ विश्वविद्यालय र ७ प्रतिष्ठानका उपकुलपतिहरूलाई छलफलमा आमन्त्रित गरिएको छ ।
बैठकमा विश्वविद्यालय तथा प्रतिष्ठानहरूले भोगिरहेका समसामयिक समस्या, तिनका समाधानका उपाय तथा तत्काल समाधान गर्न सकिने विषयहरूबारे विस्तृत छलफल हुने जनाइएको छ ।
छलफलमा त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयका उपकुलपति सहभागी हुनेछन् । साथै पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति पनि उपस्थित रहनेछन् ।
यसैगरी नेपाल संस्कृत विश्वविद्यालय, सुदूरपश्चिमाञ्चल विश्वविद्यालय र मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपतिहरू पनि बैठकमा सहभागी हुनेछन् ।
त्यस्तै कृषि तथा वनविज्ञान विश्वविद्यालय, राजर्षि जनक विश्वविद्यालय र शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपतिहरूसँग पनि छलफल हुने कार्यक्रम छ ।
साथै नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट), चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरूसँग पनि प्रधानमन्त्रीले संवाद गर्नेछन् ।
यसैगरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरू पनि छलफलमा सहभागी हुनेछन् ।
सरकारले उच्च शिक्षाका क्षेत्रमा देखिएका समस्या समाधान र सुधारका उपाय खोज्न यो छलफल महत्वपूर्ण हुने अपेक्षा गरिएको छ ।