काठमाडौं । इक्रा नेपाललेले एमएडब्लू हायर पर्चेज प्राइभेट लिमिटेड (एमएचपीएल) को क्रेडिट रेटिङ अपग्रेड गरेको छ । कम्पनीको सुधारिएको वित्तीय प्रदर्शन र बलियो सम्पत्ति गुणस्तरलाई आधार मान्दै रेटिङ वृद्धि गरिएको हो ।
कम्पनीको दीर्घकालीन कर्जा रेटिङ ‘एलबिबी प्लस’ बाट बढाएर ‘एलबिबिबी माइनस’ गरिएको छ भने अल्पकालीन रेटिङ ‘ए–४ प्लस’ बाट सुधार भई ‘ए–३’ पुगेको छ । यस रेटिङ अपग्रेडले कम्पनीको समग्र क्रेडिट प्रोफाइल सुदृढ बन्दै गएको संकेत गरेको छ ।
विशेषगरी मोबाइल फोन फाइनान्सिङ क्षेत्रमा प्रभावकारी असुली संयन्त्र र प्रविधिमा आधारित नियन्त्रण प्रणाली अपनाउँदा कम्पनीको सम्पत्ति गुणस्तरमा उल्लेखनीय सुधार आएको जनाइएको छ । कम्पनीले नाफा आर्जनको स्तर सन्तुलित रूपमा कायम राख्दै नेट इन्ट्रेस्ट मार्जिन स्थिर राखेको छ भने सञ्चालन खर्च नियन्त्रणले निरन्तर सञ्चालन नाफा कायम राख्न सहयोग पुर्याएको छ ।
कम्पनीले करिब ९६ प्रतिशतको बलियो प्रावधान कभरेज कायम राखेको छ, जसले वित्तीय स्थायित्व बढाउनुका साथै सम्भावित नोक्सानी बहन गर्ने क्षमता सुदृढ बनाएको छ । कर्जा पोर्टफोलियो विविध र स–साना खण्डमा विभाजित रहेको र मध्यम लोन–टु–भ्याल्यु अनुपातमा ध्यान दिइएकाले जोखिम न्यूनीकरणमा मद्दत पुगेको बताइएको छ ।
सन् २०११ मा स्थापना भएको एमएडब्लू हायर पर्चेज एमएडब्लू गुप्रअन्तर्गतको कम्पनी हो। समूहको सशक्त बजार उपस्थिति र अग्रणी ब्रान्डसँगको साझेदारीले व्यवसाय विस्तारमा सहयोग गर्नुका साथै वित्तीय संस्थाबाट हुने लगानीको पहुँचलाई सहज बनाएको जनाइएको छ।