काठमाडौं । सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङलाई ज्यान मार्ने धम्की दिने व्यक्ति पक्राउ परेका छन् ।
शनिबार काठमाडौं सिनामंगलबाट सानु भाइ भन्ने २० वर्षीय साजन विष्ट पक्राउ परेका हुन् ।
विष्टले फेसबुकमा सानू भाइ नामक एकाउन्टबाट पूर्वप्रधानमन्त्री केपी ओली, पूर्वगृहमन्त्री रमेश लेखक, पूर्वमन्त्री दिपक खड्कालाई तुरुन्त रिहा गर अन्यथा प्रधानमन्त्री तथा गृहमन्त्रीलाई गोली हान्न टिम बाध्य हुनेछ जस्ता स्टाटस लेखेका थिए ।
त्यसैगरी, उनले एके ४७ जस्ता अत्याधुनिक ठुला हतियारहरू काठमाडौंमा भित्रिसकेको भनेर भ्रम फैलाएका थिए ।
सर्वसाधारणमा त्रास फैलाउने र आफूले भनेका कुराहरू नमानेमा हालको प्रधानमन्त्री तथा गृहमन्त्रीलाई ज्यान मार्ने धम्कीपूर्ण थप भिडियोसमेत उनले सार्वजनिक गरेका थिए ।
विष्ट ५ वर्षदेखि भारतको बैंगलोरमा बसोबास गर्दै आएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । उनी बैंगलोरको एमजी रोडस्थित फेन्सी स्टोरमा काम गर्थे ।
उनी भारतमा बस्दा विभिन्न अपराधमा संलग्न रहेको अनुसन्धानबाट खुलेको कार्यालयले जनाएको छ ।