कार आयात ६ प्रतिशतले बढ्यो, स्टकका कारण ईभी आयातमा मन्दी

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ९ महिना अर्थात् साउनदेखि चैतसम्ममा नेपालको अटो बजार मिश्रित देखिएको छ । भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार ९ महिनाको अवधिमा कुल ११ हजार ३१३ युनिट कार, जीप र भ्यान आयात भएका छन् । यो संख्या गत आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब ६ प्रतिशत अर्थात् ६०४ युनिटले बढी हो ।

गत वर्ष चैत मसान्तसम्म १० हजार ७०९ युनिट सवारी साधन भित्रिएका थिए । आयात बढेसँगै राज्यको ढुकुटीमा पनि उल्लेख्य योगदान पुगेको छ । समिक्षा अवधिमा कुल २० अर्ब ६७ करोड रुपैयाँ बराबरका सवारी साधन आयात हुँदा सरकारले १९ अर्ब १८ करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।

कार आयातमा वृद्धि देखिए पनि पछिल्लो समय लोकप्रियता कमाइरहेको विद्युतीय कार (ईभी) को आयातमा भने गिरावट आएको छ । भन्सार विभागको तथ्यांक अनुसार चालु आवको ९ महिनामा ईभी आयात करिब १० प्रतिशतले घटेको छ । गत वर्ष यसै अवधिमा ७ हजार ९६७ युनिट ईभी भित्रिएकोमा यस वर्ष त्यो संख्या घटेर ७ हजार १७३ युनिटमा खुम्चिएको छ ।

चालु वर्ष भित्रिएका १६ अर्ब ६६ करोड मूल्य बराबरका ईभीबाट सरकारले १० अर्ब ११ करोड रुपैयाँ राजस्व प्राप्त गरेको छ । ईभी आयात घट्नुको मुख्य कारण बजेट अगाडि कर बढ्ने डरले व्यवसायीहरूले पहिले नै करिब ६ हजार युनिट स्टक राख्नु र ती कारहरू अझै बिक्री भइनसक्नुलाई मानिएको छ । साथै, यस वर्ष पेट्रोल कारको आयातमा देखिएको वृद्धले पनि ईभीको बजार हिस्सामा केही प्रभाव पारेको छ ।

यस अवधिमा भित्रिएका विद्युतीय सवारी साधनमध्ये मध्यम क्षमताका कारको बढी देखिएका छन् । जसमा ५० किलोवाटसम्मका २ हजार ५०६ युनिट, ५१ देखि १०० किलोवाटसम्मका ४ हजार ८३ युनिट, १०१ देखि २०० किलोवाटसम्मका ५७४ युनिट, २०१ किलोवाटमथिका ८ युनिट तथा अनएसेम्बल गरिएका ५० किलोवाटसम्मका २ युनिट रहेका छन् । यसरी हेर्दा नेपाली बजारमा अझै पनि ५१ देखि १०० किलोवाट क्षमताका विद्युतीय कारहरू उपभोक्ताको रोजाइमा बढी परेको देखिन्छ । 

Share News