काठमाडौं । नेकपा एमालेले विभिन्न विवादमा मुछिएका गृहमन्त्री सुधन गुरुङमाथि उच्चस्तरीय संयन्त्र गठन गरेर छानबिन गर्न माग गरेको छ ।
एमालेका केन्द्रीय सदस्य एवं प्रेस संयोजक मीनबहादुर शाहीले मंगलबार एक विज्ञप्ति जारी गर्दै गृहमन्त्रीको संलग्नता देखिएका सबै विषयहरूको छानबिनका लागि उच्चस्तरीय संयन्त्र गठन गरी तत्काल अनुसन्धान प्रक्रिया अघि बढाउन माग गरेका हुन् ।
‘गृहमन्त्रीसँग सम्बन्धित विषयहरूमा निष्पक्ष र स्वतन्त्र अनुसन्धान प्रक्रिया अगाडि बढाउन नेकपा एमाले जोडदार माग गर्दछ । यसका लागि अनुसन्धानलाई कुनै पनि प्रकारको शक्ति वा प्रभावबाट मुक्त राखेर अघि बढाइनु पर्दछ,’ विज्ञप्तिमा भनिएको छ । ‘गृहमन्त्रीको संलग्नता देखिएका सबै विषयहरूको छानबिन गर्न उच्चस्तरीय संयन्त्र गठन गरी तत्काल अनुसन्धान प्रक्रिया सुरु गरियोस् ।’
शाहीले जारी गरेको विज्ञप्तिमा गृहमन्त्रीले कुनै ढिलासुस्ती वा ढाकछोप नगरी अनुसन्धान प्रक्रियालाई सहज, निष्पक्ष र प्रभावरहित बनाउन तुरुन्त मार्ग प्रशस्त गर्न माग गरिएको छ ।
एमालेले आफ्नो पार्टीले सधैं विधिको शासन र सुशासनका आधारभूत मूल्य–मान्यतालाई संस्थागत गर्न प्रेरित गरिरहने जनाएको छ । विधिको शासन सबै नागरिकका लागि समान रूपमा लागू हुने अपरिहार्य सिद्धान्त भएको एमालेले स्मरण गराएको छ ।