५५ मध्य २ मात्रै आयोजना कार्यान्वयनमा जानु लाजमर्दो, कडा निर्णय लिने अर्थमन्त्रीको चेतावनी

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले लगानी स्वीकृत भएका ५५ आयोजना मध्ये केवल २ वटा मात्र निर्माण चरणमा पुग्नु लाजमर्दो अवस्था भएको टिप्पणी गरेका छन् ।

लगानी बोर्डको अनुगमन तथा सहजीकरण समितिको १३औँ बैठकमा बोल्दै उनले विदेशी लगानी स्वीकृत भए पनि लामो समयसम्म कार्यान्वयन नहुनु गम्भीर विषय भएको भन्दै समीक्षा आवश्यक रहेको बताए ।

‘विदेशी लगानी स्वीकृत भएर पनि काम अघि नबढ्नु गम्भीर समस्या हो । दोष व्यक्ति हो वा कानुन, स्पष्ट हुनुपर्छ । आवश्यक परे कानुन नै परिवर्तन गर्नुपर्ने अवस्था आउन सक्छ,’ उनले भने । 

उनले समस्या तत्काल पहिचान गरी समाधान गर्न निर्देशन दिँदै आगामी १४औँ बैठकसम्म ठोस प्रगति नभए कडा निर्णय लिने चेतावनी दिए । साथै, लगानी सहजीकरण गर्ने शक्तिशाली निकाय नै निष्क्रिय देखिनु गलत सन्देश भएको भन्दै कम्तीमा १० वटा आयोजनामा तत्काल प्रगति देखिनुपर्नेमा जोड दिए ।

अर्थमन्त्रीले केही ‘फेन्सी’ आयोजनाहरूको पनि पुनरावलोकन गर्नुपर्ने आवश्यकता औंल्याए ।

null

प्रधानमन्त्रीका नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकालले देशका विकास आयोजना अत्यन्त दयनीय अवस्थामा पुगेको भन्दै परियोजना अघि बढ्न नसक्नुका कारणहरू तत्काल पहिचान गर्नुपर्ने बताए । उनले कुन निकाय वा व्यक्तिका कारण समन्वयमा समस्या आएको हो भन्ने विषय अब कडाइका साथ निगरानी गरिने जानकारी दिए ।

त्यसैगरी, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बोर्डको काम, कर्तव्य र अधिकारका साथै स्वीकृत तथा सहजीकरण भइरहेका आयोजनाहरूको प्रगति विवरण बैठकमा प्रस्तुत गरेका थिए । उनले अघिल्लो १२औँ बैठकका निर्णयहरूको कार्यान्वयन अवस्थाबारे पनि जानकारी गराएका थिए ।

Share News