पोखरामा पर्यटकलाई सताउने थप तीन युवती पक्राउ

काठमाडौं । पोखराको लेकसाइडमा रातिको समयमा पर्यटकलाई दुःख र हैरानी दिएको आरोपमा प्रहरीले थप ३ युवतीलाई पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय कास्की र मातहतको वडा प्रहरी कार्यालय बैदामबाट खटिएको विशेष टोलीले उनीहरूलाई मंगलबार बिहान नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार युवतीहरूले पर्यटकलाई अनावश्यक रूपमा सताउने, विभिन्न किसिमका प्रलोभन देखाई दुःख दिने, हैरानी पार्ने र लुटपाट गर्नेजस्ता गतिविधिमा संलग्न हुने गरेको उजुरी आएको थियो ।

यसैका आधारमा विशेष निगरानीपछि उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

पोखरा महानगरपालिका-६, लेकसाइडको सडकमा आन्तरिक तथा बाह्य पर्यटकलाई अनावश्यक रूपमा दुःख दिने, लुटपाट गर्ने र अनैतिक क्रियाकलापमा संलग्न रहेको फेला परेपछि उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उनीहरू आइतबार बिहान करिब २ः३० बजेको समयमा पक्राउ परेका हुन् ।

पक्राउ परेकाहरूमाथि आवश्यक कानुनी कारबाही प्रक्रिया अगाडि बढाइएको छ । यसअघि पनि लेकसाइडमै पर्यटकलाई दुःख र हैरानी दिएको आरोपमा १६ जना महिलालाई पक्राउ गरिएको थियो । 

लेकसाइड क्षेत्रमा रातिको समयमा हुने यस्ता अवाञ्छित गतिविधि र लुटपाटका घटनाबारे व्यापक जनगुनासो आउन थालेपछि प्रहरीले सक्रियता बढाएको हो ।​​​​​​ 

Share News