अटोमोबाइलमा मूल्यसूची स्टिकर अनिवार्य गर्ने विषयमा नाडाको चासो

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का प्रतिनिधिमण्डलले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक रोशन ज्ञवालीसँग अटोमोबाइल वस्तुहरूमा अधिकतम मूल्यसूचीसहितको स्टिकर टाँस्ने विषयमा विस्तृत छलफल गरेको छ ।

बैशाख ८ गते भएको उक्त भेटमा विभागले मिति २०८२/१२/३० मा जारी गरेको प्रेस विज्ञप्तिका विषयमा नाडाले आफ्नो ध्यान आकृष्ट भएको जनाएको छ । विभागले विदेशबाट पैठारी गरी नेपालमा बिक्री–वितरण गरिने सम्पूर्ण वस्तुहरूमा अनिवार्य रूपमा अधिकतम खुद्रा मूल्य उल्लेख गर्नुपर्ने तथा बिक्री गर्दा अनिवार्य रूपमा बिल–विजक जारी गर्नुपर्ने व्यवस्थालाई नाडाले सकारात्मक रूपमा लिएको जनाएको छ ।

यद्यपि, नाडाले सो व्यवस्थाको कार्यान्वयनका क्रममा देखिन सक्ने व्यावहारिक चुनौतीहरूबारे विभिन्न चासो र जिज्ञासा राख्दै थप स्पष्टताको माग गरेको छ । नाडाले पुरानो स्टकमा रहेका सामानहरूको व्यवस्थापन कसरी गर्ने, भन्सार विन्दुमै स्टिकर टाँस्ने व्यवस्था कत्तिको व्यावहारिक हुने जस्ता विषय उठाएको छ । साथै, संस्थाले फेयर ट्रेड र पारदर्शी व्यवसायलाई सधैं प्रवर्द्धन गर्दै आएको जनाएको छ ।

छलफलका क्रममा महानिर्देशक ज्ञवालीले उपभोक्ता संरक्षण ऐन, २०३५ अनुसारको व्यवस्था कार्यान्वयनमा ल्याइएको र वर्तमान सरकारको १०० बुँदे कार्यक्रममै यस विषयलाई प्राथमिकताका साथ अघि बढाइएको बताए । उनले नाडाबाट उठाइएका चासो र जिज्ञासालाई सकारात्मक रूपमा लिएको उल्लेख गर्दै कार्यान्वयनमा देखिने समस्या समाधान गर्न विभाग तयार रहेको बताए ।

उनले स्टिकरसहितको अधिकतम मूल्यसूची टाँस्ने विषयमा उद्योगी तथा आयातकर्ताप्रति विभाग कडाइका साथ प्रस्तुत हुने स्पष्ट पारे । साथै, आवश्यक परे विद्यमान कानुनमा सुधारका लागि सुझाव दिन पनि नाडालाई आग्रह गरे ।

उक्त छलफलमा नाडाका उपाध्यक्ष विक्रम सिंघानिया, महासचिव मिलनबाबु मल्ल, सचिव मेघराज पौडेल, कोषाध्यक्ष पंकज अग्रवाल, सहकोषाध्यक्ष निलमणि पाठक, केन्द्रीय कार्यसमिति सदस्य तथा स्पेयर पार्ट्स समितिका सभापति दीपेन्द्रकुमार मिश्र र सदस्य नारायणप्रसाद पौडेललगायतको उपस्थिति रहेको थियो ।  

Share News