सम्बन्धन प्राप्त क्याम्पस र कलेजमा स्थलगत अध्ययन गर्दै त्रिवि, ७० हजार रुपैयाँ शुल्क

काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गत व्यवस्थापन संकाय, डीनको कार्यालय कीर्तिपुरले सम्बन्धन प्राप्त क्याम्पस तथा कलेजहरूको स्थलगत सम्भाव्यता अध्ययन गर्ने भएको छ । 

व्यवस्थापन संकाय अन्तर्गत सञ्चालन भइरहेका नियमित शैक्षिक कार्यक्रमहरू ब्याचलर अफ बिजनेस स्टडीज (बीबीएस) र मास्टर अफ बिजनेस स्टडीज (एमबीएस) र विशेष शैक्षिक कार्यक्रम ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेशन (बीबीए), ब्याचलर अफ बिजनेस म्यानेजमेन्ट (बीबीएम), ब्याचलर अफ इन्फर्मेशन टेक्नोलोजी म्यानेजमेन्ट (बीआईटी), ब्याचलर अफ पब्लिक एडमिनिस्ट्रेशन (बीपीए), ब्याचलर अफ होटल म्यानेजमेन्ट (बीएचएम), ब्याचलर अफ ट्राभल एण्ड टुरिज्म म्यानेजमेन्ट (बीटीटीएम), मास्टर अफ हस्पिटालिटी म्यानेजमेन्ट (एमएमएचएमएम), मास्टर अफ ट्राभल एण्ड टुरिज्म म्यानेजमेन्ट (एमटीटीएम), मास्टर अफ इन्फर्मेशन टेक्नोलोजी म्यानेजमेन्ट (एमआईटीएम) मा नयाँ कार्यक्रम वा सेक्सन थप गर्न आवेदन दिएका क्याम्पस तथा कलेजहरूको स्थलगत अध्ययन गरिनेछ ।

त्रिवि कार्यकारी परिषदको २०८२ भदौ १४ गतेको बैठकको निर्णय अनुसार १०० पूर्णाङ्कको मूल्यांकनमा न्यूनतम् ६० अंक प्राप्त गर्न सक्ने क्याम्पस/कलेजहरू मात्र अध्ययन प्रक्रियामा समावेश हुन सक्नेछन् ।

उपत्यकाभित्रका क्याम्पस/कलेजहरूले प्रति शैक्षिक कार्यक्रम ५५ हजार रुपैयाँ र उपत्यका बाहिरका क्याम्पस/कलेजहरूले ७० हजार रुपैयाँका दरले शुल्क बुझाउनुपर्ने व्यवस्था गरिएको छ । उक्त रकम व्यवस्थापन संकाय, डीनको कार्यालयको खातामा सूचना प्रकाशित मितिले १५ दिनभित्र जम्मा गर्नुपर्नेछ ।

साथै, तोकिएको समयसीमा भित्र शुल्क नबुझाउने क्याम्पस÷कलेजहरूलाई स्थलगत सम्भाव्यता अध्ययनका लागि योग्य नमानिने पनि त्रिविले जनाएको छ ।

Share News