काठमाडौं । नेपालमा अस्थायी रूपमा सञ्चालन हुने विदेशमा दर्ता भएका सवारीसाधनले अब तेस्रो पक्ष बीमा (थर्ड पार्टी इन्स्योरेन्स) गर्न पाउने भएका छन् । नेपाल बीमा प्राधिकरणले यससम्बन्धी एक परिपत्र जारी गर्दै सो बारे जानकारी गराएको हो ।
प्राधिकरणका उपनिर्देशक केशवप्रसाद दाहालका अनुसार सम्बन्धित निकायबाट स्वीकृति प्राप्त गरी विभिन्न प्रयोजनको लागि नेपालमा सञ्चालन हुन आउने विदेशमा दर्ता भएका सवारी साधनको नेपालभित्र सञ्चालन हुने अवधिसम्मको लागि तेस्रो पक्ष बीमा गर्न पाउने भएका छन् ।
नेपाल बीमा प्राधिकरणले जारी गरेको परिपत्र अनुसार सम्बन्धित निकायबाट स्वीकृति लिएर विभिन्न प्रयोजनका लागि नेपालमा सञ्चालन हुने विदेशी सवारी साधनले नेपालभित्र रहँदासम्म तेस्रो पक्ष बीमा गर्न सक्ने व्यवस्था गरिएको हो ।
प्राधिकरणका अनुसार उक्त व्यवस्था मोटर बीमा दर सम्बन्धी निर्देशिका, २०७३ बमोजिम लागू हुनेछ ।
यस व्यवस्थाले नेपालमा सञ्चालन हुने विदेशी सवारीसाधनबाट हुन सक्ने तेस्रो पक्ष क्षतिको जोखिम व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा प्राधिकरणले गरेको छ ।