साझाको रात्रिकालीन बस सेवामा एक सातामै ४ हजार बढी यात्रु, सेवा विस्तार गर्ने योजना

काठमाडौं । काठमाडौं उपत्यकामा सञ्चालित साझा यातायातको रात्रिकालीन बस सेवामा यात्रुहरूको आकर्षण बढ्दो देखिएको छ । 

साझा यातायातले सार्वजनिक गरेको तथ्याङ्क अनुसार वैशाख १ गतेदेखि ७ गतेसम्मको पहिलो एक सातामा कुल ४ हजार २३ जना यात्रुले यस सेवाको लाभ लिएका छन् । 

काठमाडौं र ललितपुर महानगरपालिकासँगको सहकार्यमा बूढानीलकण्ठ(लगनखेल र एयरपोर्ट(थानकोट रुटमा राति ८ बजेदेखि ११ बजेसम्म ७ वटा बसहरू सञ्चालन भइरहेका छन् ।

साझा यातायातका सीईओ भूपेन्द्र अर्यालका अनुसार सुरुवाती दिनहरूमा यात्रु सङ्ख्या उत्साहजनक रहेको छ । पहिलो दिन ५०४ जनाबाट सुरु भएको यात्रा पाँचौँ दिन पुग्दा सबैभन्दा बढी ६८३ जना पुगेको थियो ।

'अहिलेको यात्रु सङ्ख्या सन्तोषजनक छ, घाटामै रहे पनि सेवालाई निरन्तरता दिनेछौं,' अर्यालले भने । 

आगामी असारसम्म घाटा भएमा दुवै महानगरपालिकाले बजेट व्यवस्थापन गर्ने सहमति भइसकेको छ ।

यात्रुको चाप बढ्दै गएमा रुट र बसको सङ्ख्या थप्ने योजना रहेको र यसमा बूढानीलकण्ठ तथा चन्द्रागिरी नगरपालिकाले समेत उत्साह देखाएका छन् ।

राति अबेरसम्म काम गर्ने र यात्रा गर्नुपर्ने सर्वसाधारणका लागि यो सेवा निकै सहयोगी सावित भएको छ।

Share News