शेखर गोल्छा पक्राउप्रति आपत्ति जनाउँदै नाइमाले भन्यो– प्रमाणबिना उद्योगीमाथि प्रहार नगर

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले उद्योगपति तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छासँग जोडिएको पछिल्लो घटनाक्रमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

नाइमाको बोर्ड सदस्यसमेत रहेका गोल्छामाथि भइरहेको प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै संस्थाले शुक्रबार (आज) एक विज्ञप्ति जारी गरी राज्यका निकायहरूलाई संवेदनशीलता अपनाउन र विधिको शासन कायम राख्न आग्रह गरेको हो ।

नाइमाले कुनै पनि व्यक्तिमाथि कारबाही वा प्रक्रिया अघि बढाउँदा सम्बन्धित पक्षलाई आफ्नो कुरा राख्ने पर्याप्त अवसर दिनुपर्नेमा जोड दिएको छ । 

विज्ञप्तिमा भनिएको छ, ‘यस्ता प्रकृतिका विषयमा अघि बढ्दा सम्बन्धित व्यक्तिलाई आवश्यक स्पष्टीकरण प्रस्तुत गर्ने पर्याप्त अवसर प्रदान गरिनु पर्दछ । प्रक्रियागत स्पष्टता र उचित विवेकले मात्र प्रणालीप्रतिको विश्वास सुदृढ हुन्छ ।’

मुलुकको अर्थतन्त्र, रोजगारी र राजस्वमा निजी क्षेत्रको ठूलो योगदान रहेको स्मरण गराउँदै नाइमाले राज्यको व्यवहार सकारात्मक हुनुपर्ने उल्लेख गरेको छ । 

‘निजी क्षेत्रको मनोबल उच्च राख्ने र उद्यमशीलता जोगाउने दिशामा राज्यले उचित नीतिगत सन्देश दिनु आवश्यक छ,’  विज्ञप्तिमा उल्लेख छ ।

संस्थाले आफू पारदर्शिता र विधिको शासनको पक्षमा रहेको पनि प्रष्ट पारेको छ। 

कुनै पनि विषयमा तथ्यका आधारमा निष्पक्ष छानबिन हुनुपर्नेमा नाइमाले जोड दिएको छ । कानुन उल्लंघन गर्ने जो-कोहीमाथि कारबाही हुनुपर्छ भन्नेमा संस्था अडिग रहेको विज्ञप्तिमा उल्लेख छ ।

पर्याप्त प्रमाणबिना कसैमाथि कठोर कदम चाल्दा समग्र आर्थिक प्रणाली र विश्वासमा धक्का लाग्ने चेतावनीसमेत नाइमाले दिएको छ । 

शेखर गोल्छालाई बिहीबार प्रहरीले नियन्त्रणमा लिएको हो ।

धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९४, ९५, ९६ को उपदफा (१) र दफा ९८ बमोजिमको कसूरमा संलग्न रहेको देखिएपछि उनीमाथि थप अनुसन्धान अघि बढाइएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जनाएको छ ।

Share News