काठमाडौं । नेपाल सरकारको सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा सञ्चालित'ई-गभर्मेन्ट प्रोक्युरमेन्ट'प्रणालीमा अनधिकृत पहुँच पुर्याई ठेक्काका विवरणहरू हेरफेर गरेको अभियोगमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका अनुसार चपुर निर्माण सेवा प्रालिका सञ्चालक ३२ वर्षीय अमृत बोहरालाई पक्राउ गरिएको हो । काठमाडौंको टोखा नगरपालिका-४ बानियाटार घर भएका बोहरालाई काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिई ब्यूरोको प्रहरी टोलीले आज अर्थात् वैशाख ११ गते शंखमुलबाट नियन्त्रणमा लिएको हो ।
विभिन्न ठेक्काहरूको आर्थिक प्रस्ताव खोल्नु अगावै प्रणालीमा छिरेर कागजातहरू परिवर्तन गर्ने गरेको उजुरी परेपछि उनीमाथि अनुसन्धान सुरु गरिएको थियो । सुरुमा साइबर ब्यूरोमा विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत मुद्दा दर्ता भए तापनि हाल यसलाई संगठित अपराधको रूपमा लिएर अनुसन्धान अगाडि बढाइएको छ ।
सीआईबीका अनुसार यस प्रकरणमा हालसम्म ७ जना निर्माण व्यवसायीसहित जम्मा १० जना शंकास्पद व्यक्तिहरू पक्राउ परिसकेका छन् । पक्राउ परेका बोहरामाथि अहिले संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गतको कसूरमा थप अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।
सरकारी अनलाइन प्रणालीको सुरक्षामा गम्भीर प्रश्न उठाउँदै ठेक्का प्रक्रियामा अनियमितता गर्ने यस्ता कार्यमा संलग्न अन्य व्यक्तिहरूको पनि खोजी भइरहेको प्रहरीले उल्लेख गरेको छ ।