अब हुलाकले घरमै पुर्‍याइउनेछ राहदानी

काठमाडौं । काभ्रेपलाञ्चोकका नागरिकलाई घरमै राहदानीलगायत प्रशासनिक सेवा उपलब्ध गराउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोक र जिल्ला हुलाक कार्यालय काभ्रे बीच शुक्रबार सम्झौता भएको छ ।

सम्झौतापछि प्रशासन कार्यालयबाट तयार हुने राहदानी तथा अन्य भौतिक सामग्री अब हुलाकमार्फत सेवाग्राहीको घरमै पुर्याइने भएको हो । यसले कार्यालयसम्म धाउनुपर्ने झन्झट घटाउने र विशेषगरी वृद्धवृद्धा, अशक्त, व्यस्त तथा दुर्गम क्षेत्रमा बसोबास गर्ने नागरिकलाई राहत पुग्ने अपेक्षा गरिएको छ ।

सेवाग्राहीले आवश्यक प्रक्रिया पूरा गरी घरमै सेवा लिन चाहेको अनुरोध गरेमा राहदानीलगायतका सामग्री सुरक्षित रूपमा घरसम्म पठाइने व्यवस्था गरिएको छ ।

सम्झौतामा सहायक प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईँ र हुलाक कार्यालय प्रमुख दीपककुमार नेपालीले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार प्रशासन कार्यालयले सेवाग्राहीको स्पष्ट ठेगाना उपलब्ध गराउनेछ भने हुलाक कार्यालयले सामग्री सुरक्षित र छिटो ढुवानी गर्ने जिम्मेवारी लिनेछ ।

प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार यो व्यवस्था लागू भएपछि लामो लाइन बस्नुपर्ने र पटक-पटक कार्यालय धाउनुपर्ने अवस्था अन्त्य हुने अपेक्षा गरिएको छ। उनले घरमै सेवा लिन चाहने सेवाग्राहीले सोहीअनुसार आवेदनमा उल्लेख गर्न आग्रह गरे ।

Share News