काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका नदी किनार, जोखिमपूर्ण सार्वजनिक तथा सरकारी जग्गामा बनाइएका अनधिकृत बस्तीहरू खाली गराउने कार्यलाई तीव्रता दिएको छ ।
यस क्रममा काठमाडौं महानगरपालिका-११ स्थित थापाथलीको बस्ती खाली गरिएको छ भने वडा नम्बर ९ को गैरीगाउँ र वडा नम्बर ३१ को शान्तिनगरमा बस्ती हटाउने क्रम जारी रहेको छ ।
यस्तै, कागेश्वरी मनोहरा नगरपालिका-८ को गोठाटार बुद्धचोक तथा वडा नम्बर ९ को मनोहरा टोलमा रहेका अनधिकृत बस्तीहरू पनि खाली गर्ने तयारी गरिएको छ ।
काठमाडौं उपत्यका विकास प्राधिकरणका अनुसार शान्तिनगरमा ४७६, गैरीगाउँमा १६२, थापाथलीमा १४३, गोठाटारमा ७७ र मनोहरा टोलमा १३ गरी कुल ८७१ अनधिकृत घरधुरी रहेका छन् ।
बस्ती खाली गराउने क्रममा नेपाल प्रहरी र महानगरका सुरक्षाकर्मीहरूले स्थानीयवासीलाई सामान उठाउन तथा ढुवानी गर्न प्रत्यक्ष सहयोग गरेका छन् । प्रभावित परिवारहरूले पनि सरकारको कदममा सहयोग गरेपछि थापाथलीमा शान्तिपूर्ण र सौहार्दपूर्ण रूपमा बस्ती खाली गरिएको जनाइएको छ ।
हालसम्म थापाथलीमा बसोबास गरिरहेका ६८ परिवार सरकारको सम्पर्कमा आएका छन् भने अन्य स्थानबाट पनि सम्पर्कमा आउने क्रम जारी रहेको छ ।
सम्पर्कमा आएका परिवारहरूलाई दशरथ रंगशालामा पुर्याएर उनीहरूको विवरण सङ्कलन गरिनेछ र त्यसपछि काठमाडौंका विभिन्न होटलहरूमा अस्थायी रूपमा राख्ने तयारी गरिएको छ ।
हालका लागि घरायसी सामानहरू कीर्तिपुरको सुन्दरीघाटस्थित राधास्वामी सत्संग ब्यास नेपालमा सुरक्षित रूपमा राखिएको छ ।
अब होटलमा राखिएका परिवारहरू वास्तविक सुकुम्बासी हुन् वा होइनन् भन्ने पहिचान प्रक्रिया भोलिदेखि सुरु गरिनेछ ।
वास्तविक सुकुम्बासी ठहरिएका परिवारलाई दुई साताभित्र नागार्जुन नगरपालिका-१ स्थित सरकारी अपार्टमेन्टमा स्थानान्तरण गरिनेछ । त्यसपछि उनीहरूको दीर्घकालीन व्यवस्थापनको काम अघि बढाइने सरकारको तयारी छ ।