काठमाडौं । सिनामंगलको गैह्रीगाउँ सुकुम्बासी बस्ती । जहाँ ३२ वर्षीया कौशिल्या नेपाली र उनका श्रीमान् दीपक नेपालीले वर्षौंदेखि संघर्षपूर्ण जीवन बिताइरहेका थिए ।
पुरानो झोला, बाटा राखिएको भाँडाकुँडा र ओछयान । थकित शरीर यही नै उनीहरूको संसार हो । आजदेखि भने यहीँ कोठा र बागमती पनि उनीहरूको लागि बिरानो बन्यो ।
सुकुम्बासी बस्तीबाट सदाको लागि उनीहरूको बास उठ्दैछ । बस्ने र खाने ठाउँ छैन ।
दोलखाबाट काठमाडौं आएका उनीहरू जीवनको खोजीमा थिए । तर शहरले उनीहरूलाई अवसरभन्दा बढी संघर्ष दियो ।
अहिले उनीहरू मागेर गुजारा चलाइरहेका थिए । भोलिदेखि कहाँ गएर माग्ने टुंगोसमेत छैन । किनभने उनीहरूको बस्ने ठेगान लाग्न सकेको छैन ।
श्रीमान् दीपकको आँखाले संसार देख्न छाडेको धेरै भइसक्यो । दृष्टि विहीन दीपकका लागि कामको अवसर बन्द भयो, अनि परिवारको जिम्मेवारी कौशिल्याको काँधमा थपियो। उनले मागेर परिवारको गुजारा चलाइरहेका थिए ।
‘अब हामी कहाँ जाने ?’ कौशिल्याले बाहिर निकालेका सामानलाई देखाउँदै भनिन्, ‘काठमाडौंमा हामी आजदेखि बिरानो हुने भयौं ।’
उनीहरूको यो पीडा मात्र थिएन । घरधनीले वर्षौदेखि आश्वासन दिएर राखेका थिए । सदाको लागि यहीँ घरमा बस्न पाउनेछौ ।
‘दोलखामा फर्किने ठाउँ छैन, जग्गा छैन, घर छैन। यहाँ पनि भाडा तिरेर बस्ने आधार हराउँदै गएको छ,’ उनले सुनाइन्, ‘अब कहाँ गएर बस्ने हो । हामीले कोठा पाइनौ ।’
उनीहरू बस्दै आएको कोठाको मासिक भाडा पाँच हजार रुपैयाँ थियो । घरधनी हेटौंडाका अर्जुन तामाङ हुन्। भाडा रकम उनीहरूले फाइनान्सको खातामार्फत पठाउने गरेका थिए । आम्दानी र दैनिक गुजाराकै समस्या भएपछि त्यो भाडा पनि तिर्न सकेका थिएनन् ।
आजदेखि भाडा तिर्ने दुःख पनि सदाको लागि सकिएको कौशिल्याले बताइन् । सरकारले हामीलाई बस्ने ठाउँबाट उठाएकाले उसैले व्यवस्था गरिदिने उनले सुनाइन् ।
नागरिकता नहुँदा उनीहरूको जीवन अझ जटिल बनेको छ। राज्यका सेवा–सुविधा, राहत, सामाजिक सुरक्षा सबै उनीहरूका लागि पहुँचभन्दा बाहिर छन्।
कौशिल्या भन्छिन्, ‘हामी सुकुम्बासी हौँ कि हुकुम्बासी, कसैले हेरेको छैन। हाम्रो पीडा कसले बुझ्छरु अब त राज्यले हाम्रो पहिचान गर्ने बेला आएको छ।’
हामीलाई बालेन सरकारले राख्छ भन्ने सुनेको तर कोही पनि लिन आउला जस्तो नलागेको उनले गुनासो पोखिन् ।
सिनामंगलको यो बस्तीमा कौशिल्या र दीपकजस्ता धेरै परिवार थिए । सबैजना आजदेखि कोठा खोज्दै र सदाका लागि स्थायी बास खोज्न सहरमा छिरिसके ।
प्रधानमन्त्री बालेन्द्र शाहले बुधबार साँझ सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गर्दै शनिबार या आइतबार सुकुम्बासी बस्ती हटाउन निर्देशन दिएका थिए ।
प्रधानमन्त्रीको निर्देशनपछि बिहीबार काठमाडौं महानगरपालिका, प्रमुख जिल्ला अधिकारी तथा सहरी विकास मन्त्रालयका केही उच्च कर्मचारीबीच विभिन्न चरणमा औपचारिक-अनौपचारिक कुराकानी भएका थिए ।
बिहीबार साँझ प्रहरीले काठमाडौंको थापाथली, मनोहरा र गैह्रीगाउँस्थित सुकुम्बासी बस्तीमै पुगेर माइकिङ गरी शुक्रबार साँझसम्म बस्ती खाली गर्न सूचना दिएको थियो ।