बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड

काठमाडौं । दिउँसोको वर्षाका कारण बीपी राजमार्गको जोखिमलाई मध्यनजर गर्दै सुरक्षा निकायले आवागमन बन्द गराइएको छ । जिल्ला प्रहरी कार्यालय धुलिखेलले उक्त राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्धस्थित कटुञ्जेदेखि रोशीको मङ्गलटार सडक खण्ड दिउँसो ३:३० बजेदेखि बन्द गराएको हो ।
 
वर्षाका कारण रोसी खोलामा ठूलो बाढी आएकाले सम्भावित जोखिम नहोस् भन्ने हेतुले आवागमन बन्द गराइएको कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रविन विष्टले जानकारी दिए । उनका अनुसार राजमार्गको अवस्था बुझेर मात्रै यात्रा गर्न सर्वसाधारणलाई अनुरोध गरिएको छ भने अर्को सूचना जारी नभएसम्म सो खण्डमा यात्रा नगर्न अपीलसमेत गरिएको छ । 

वर्षाका कारण रोसी खोलामा पानीको बहाव बढ्दा राजमार्गमा यसअघि निर्माण गरिएको अस्थायी डाइभर्सन बगाउने गरेको थियो । गत सालको बाढी पहिरोले राजमार्गको रोसी तथा सिन्धुलीको नेपालथोक क्षेत्रमा १८ किमी सडक बगाएपछि डाइभर्सन निर्माण गरी आवागमन भइरहेको थियो । यस्तै गत चैत तेस्रो साता पनि सोही क्षेत्रको विभिन्न स्थानको ४ किमी बगाएपछि पुनः अस्थायी डाइभर्सन निर्माण गरिएको थियो । 

यसैबीच राजमार्ग अवरुद्ध भएपछि सवारी साधनहरूलाई अहिले राजमार्गको प्रवेश मार्ग धुलिखेलको काभ्रे भन्ज्याङ र सिन्धुलीको नेपालथोकमा ‘होल्ड’ गरेर राखिएको जनाइएको छ । गत साल असोजको बाढी पहिरोले चौकीडाँडा-नेपालथोक सडक खण्ड पूर्णरूपमा क्षतिग्रस्त बनाएपछि खोलाबाटै अस्थायी सडक एवं डाइभर्सन बनाएर यातायातका साधन सञ्चालन गर्दै आइएको थियो । हाल उक्त क्षेत्रमा स्थायी सडक निर्माण भइरहेको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ । 

Share News