ट्रम्पले रोके इरानसँगको दोस्रो चरणको वार्ता, अमेरिकी टोलीको पाकिस्तान भ्रमण रद्द

काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्भावित दोस्रो चरणको वार्ता रद्द गरेका छन् ।

उनले पाकिस्तान जाने तयारीमा रहेका अमेरिकी प्रतिनिधिमण्डलको यात्रा रद्द गरेका हुन् ।

उनले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै लामो यात्रा समय, कार्यभारको चाप तथा इरानी नेतृत्वभित्र देखिएको असमझदारीका कारण उक्त निर्णय गरिएको उल्लेख गरेका छन् ।

राष्ट्रपति ट्रम्पले अमेरिकासँग वार्तामा सबै आवश्यक शक्ति रहेको बताउँदै यदि इरान पक्षले संवाद गर्न चाहन्छ भने सिधै सम्पर्क गर्न सकिने धारणा व्यक्त गरेका छन् । 

यसअघि पनि उनले आफ्ना ज्वाइँ जेरेड कुश्नर र विशेष दूत स्टीभ विटकोफको पाकिस्तान भ्रमण स्थगित गरिएको जानकारी गराएका थिए ।

यसैबीच, इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले पाकिस्तानको औपचारिक भ्रमण सम्पन्न गरी इस्लामाबाद छोडेका छन् ।

उनले पाकिस्तानको शान्ति प्रयास तथा मध्यस्थ भूमिकाको प्रशंसा गर्दै यसलाई फलदायी भ्रमणका रूपमा वर्णन गरेका छन् भने अमेरिकी पक्षको कूटनीतिक प्रतिबद्धताबारे प्रश्नसमेत उठाएका छन् ।

अमेरिका र इरानबीचको सम्बन्ध सन् १९७९ को इरानी क्रान्तिदेखि नै तनावपूर्ण रहँदै आएको छ । 

विशेष गरी सन् २०१५ मा भएको आणविक सम्झौता (जेसीपीओए) बाट डोनाल्ड ट्रम्पको अघिल्लो कार्यकालमा अमेरिका बाहिरिएपछि र इरानमाथि ‘अधिकतम दबाब’ को नीति अन्तर्गत कडा आर्थिक प्रतिबन्धहरू लगाएपछि यो विवाद चरम अवस्थामा पुगेको हो । 

इरानले आफ्नो आणविक कार्यक्रम शान्तिपूर्ण रहेको दाबी गरे पनि अमेरिकाले यसलाई क्षेत्रीय सुरक्षाका लागि खतरा मान्दै आएको छ, जसका कारण दुई देशबीच प्रत्यक्ष वार्ताको वातावरण बन्न सकेको छैन ।

अमेरिका र इरान दुवैसँग कूटनीतिक र रणनीतिक सम्बन्ध कायम राखेको राष्ट्र भएकाले पाकिस्तानले लामो समयदेखि यी दुई मुलुकबीच मध्यस्थकर्ताको भूमिका खेल्ने प्रयास गर्दै आएको छ । 

खाडी क्षेत्रमा तनाव बढ्दा त्यसको प्रत्यक्ष असर दक्षिण एसिया र ऊर्जा सुरक्षामा पर्ने भएकाले पाकिस्तानले ‘शान्ति दूत बनेर संवादको ढोका खोल्न खोजेको हो । इरानी विदेशमन्त्रीको हालैको इस्लामावाद भ्रमण र अमेरिकी प्रतिनिधिमण्डलको प्रस्तावित यात्रा यसै कूटनीतिक कसरतका हिस्सा थिए, जसमा पाकिस्तानले दुवै पक्षलाई एउटै टेबुलमा ल्याउने वा सन्देश आदानप्रदान गर्ने लक्ष्य राखेको थियो ।

इरान र अमेरिकाबीचको राजनीतिक तनावको प्रत्यक्ष प्रभाव विश्वकै सबैभन्दा महत्त्वपूर्ण व्यापारिक जलमार्ग ‘हर्मुज जलडमरूमध्य’ मा पर्ने गरेको छ । विश्वको ठूलो हिस्सा खनिज तेल यही मार्गबाट ओसारपसार हुने भएकाले इरानले समय(समयमा यो मार्ग बन्द गर्ने चेतावनी दिने र अमेरिकाले आफ्नो नौसेना परिचालन गरी सुरक्षा दिने गर्नाले यो क्षेत्र सधैं सैन्य टकरावको जोखिममा रहन्छ । 

हालैका दिनहरूमा समुद्री मार्गमा देखिएका अवरोध र खानीसम्बन्धी चुनौतीहरूले गर्दा अमेरिकाले त्यहाँ आफ्नो सैन्य सतर्कता बढाएको हो, जसले गर्दा कूटनीतिक वार्ताहरू थप जटिल बनेका छन् ।

Share News