कांग्रेसले संसदीय दलको नेता चुनेसँगै संवैधानिक परिषद्ले पायो पूर्णता, छिट्टै बैठक बस्ने तयारी

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गरेसँगै संवैधानिक परिषदले पूर्णता पाएको छ । आज (सोमबार) बसेको कांग्रेस संसदीय दलको बैठकले भीष्मराज आङदेम्बेलाई निर्विरोध रूपमा दलको नेता चयन गरेको हो ।

परिषदमा प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रतिनिधि सभामा मुख्य विपक्षी दलको नेता र प्रतिनिधि सभाका उपसभामुख सदस्य रहन्छन् । परिषदको अध्यक्षता प्रधानमन्त्रीले गर्ने संवैधानिक व्यवस्था रहेको छ ।

कांग्रेस हाल प्रतिनिधिसभामा ३८ सिटसहित प्रमुख विपक्षी दलको रूपमा रहेको छ । दलको नेता चयनसँगै अब संवैधानिक परिषदमा विपक्षी दलको प्रतिनिधित्व सुनिश्चित भएको छ ।

संवैधानिक परिषद स्रोतका अनुसार मुख्य विपक्षी दलको नेता चयन भएको आधिकारीक जानकारी आए लगत्तै प्रधानमन्त्री बालेन्द्र साह परिषद बैठक बोलाउने तयारीमा रहेका छन् । 

बैठकले सबैभन्दा पहिले सर्वोच्च अदालतको प्रधानन्यायाधीश सिफारिस गर्ने तयारी गरेको परिषद स्रोतले जानकारी दियो । हाल निर्वाचन आयोगसहितका संवैधानिक संस्थाहरू प्रमुखविहीन रहेका छन् । 

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, निर्वाचन आयोग,  वित्त आयोग लगायतका संवैधानिक संस्थाहरू प्रमुखविहीन रहेका छन् ।

संवैधानिक परिषद् देशका विभिन्न संवैधानिक निकायमा पदाधिकारी नियुक्तिका लागि सिफारिस गर्ने महत्त्वपूर्ण निकाय हो । परिषद्ले पूर्णता नपाउँदा कतिपय नियुक्ति प्रक्रिया प्रभावित हुने गरेको थियो । अब भने परिषद्ले पूर्ण क्षमतामा काम गर्न सक्ने अपेक्षा गरिएको परिषद स्रोतले बतायो ।

Share News