काठमाडौं । नेपाल व्यवस्थापन संघद्वारा आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणका लागि बजेटपूर्व छलफल कार्यक्रम आयोजना गरिएको छ । 'बजेटपूर्व छलफलः समृद्धिको मार्ग' नाम दिइएको उक्त कार्यक्रम संघका अध्यक्ष हेमा कुमारी अधिकारीको अध्यक्षतामा सम्पन्न भएको हो ।
कार्यक्रममा पूर्व मुख्यसचिव डा. बैकुण्ठ अर्यालले कार्यपत्र प्रस्तुत गरेका थिए । नेपाल व्यवस्थापन संघका पूर्वअध्यक्ष तथा पूर्व अर्थमन्त्री डा. युवराज खतिवडा, राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा. रमेशचन्द्र पौडेल तथा वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट सुदर्शनराज पाण्डेले अर्थतन्त्रका विभिन्न विषय समेट्दै आगामी बजेटका लागि महत्वपूर्ण सुझाव दिएका थिए ।
कार्यक्रममा नेपाल व्यवस्थापन संघका उपाध्यक्ष कृष्ण आचार्यले सहजीकरण गरेका थिए । आर्थिक वर्ष २०८३/८४ को बजेटका लागि विभिन्न क्षेत्रबाट सुझाव संकलन गरिएको थियो । प्रमुख अतिथि डा. सञ्जय आचार्यले पनि बजेट निर्माणका लागि आवश्यक विविध सुझाव प्रस्तुत गरेका थिए ।
अध्यक्ष हेमा कुमारी अधिकारीले प्रमुख अतिथि, अन्य अतिथिहरू तथा सहभागीहरूबाट प्राप्त सुझावहरूलाई समेटेर आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणका लागि सरकारलाई औपचारिक रूपमा बुझाइने जानकारी दिइन् ।
नेपाल व्यवस्थापन संघले सरकारले बजेट निर्माण गर्नु अघि हरेक वर्ष यस्तो कार्यक्रम आयोजना गर्दै आएको जनाएको छ । सबै सरोकारवालाहरूको सल्लाह, सुझाव सरकारसम्म पुर्याई प्रभावकारी र समावेशी बजेट निर्माणमा सहयोग पुर्याउने उद्देश्यले यो कार्यक्रम निरन्तर सञ्चालन हुँदै आएको संघले जनाएको छ ।