बैंकले ‘खातावाला’ खोजेपछि ‘मृत दिदीको कंकाल’ बोकेर बैंक पुगे भाइ

काठमाडौं । भारतको ओडिशा राज्यका एक व्यक्तिले आफ्नी मृत दिदीको कंकाल बोकेर बैंकमा पुगेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

ती व्यक्तिले आफ्नी दिदीको नाममा बैंकमा जम्मा भएको पैसा निकाल्ने प्रयासको क्रममा कंकाल नै बोकेर पुगेका हुन् ।

यो घटना ओडिशाको केओनझर जिल्लाको पतना ब्लकमा रहेको ओडिशा ग्रामीण बैंकको मलिपोसी शाखामा भएको हो । 

५० वर्षीय जीतु मुन्डा भनेर चिनिएका ती व्यक्तिले प्रहरीलाई बताएअनुसार बैंकका व्यवस्थापकहरूले खातावालालाई आफूसँगै ल्याउन भनेपछि उनले यस्तो कदम चालेका हुन् ।

ती आदिवासी व्यक्तिले आफ्नी जेठी दिदी कलरा मुन्डाको बैंक खाताबाट २० हजार रुपैयाँ निकाल्न खोजिरहेका थिए । 

कलरा मुन्डाको जनवरी २६ मा मृत्यु भएको थियो ।

‘म धेरैपटक बैंक धाएँ, त्यहाँका मानिसहरूले पैसा निकाल्न खातावालालाई ल्याउनुस् भने । मैले उनको मृत्यु भइसकेको बताए पनि उनीहरूले सुनेनन् र उनलाई बैंकमै ल्याउन जोड दिए । त्यसैले मैले चिहान खनी उनको कंकाल निकालेर मृत्यु भएको प्रमाणका रूपमा ल्याएँ,’ मुन्डाले सञ्चारकर्मीलाई बताए ।

पतना प्रहरी चौकीका इन्चार्ज निरीक्षक किरण प्रसाद साहुले भने बैंकले जीतुलाई पैसा निकाल्ने सही प्रक्रिया स्पष्ट रूपमा बुझाउन नसकेको बताए ।

‘जीतु एक अशिक्षित आदिवासी व्यक्ति हुन् । उनलाई ‘कानुनी उत्तराधिकारी’ वा ‘नोमिनी’ के हो भन्ने थाहा छैन । बैंकका कर्मचारीहरूले मृत व्यक्तिको खाताबाट पैसा कसरी निकाल्ने भन्ने प्रक्रिया उनलाई बुझाउन असफल भएका छन्,’ साहुले समाचार एजेन्सी पीटीआईसँग भने ।

यता स्थानीय ब्लक विकास अधिकृत (बीडीओ) मानस दण्डपाटले भने आफूले पहिलोपटक यो घटनाबारे सुनेको बताए ।

‘आज मात्रै मैले यो विषयमा थाहा पाएँ । समस्या समाधानका लागि के गर्न सकिन्छ हेर्नेछौं,’ बीडीओले पीटीआईसँग भने ।

घटनापछि प्रहरी अधिकारीहरू हस्तक्षेपमा उत्रिएका छन् र उक्त आदिवासी व्यक्तिलाई उनकी मृत दिदीको खाताबाट पैसा निकाल्न सहयोग गर्ने आश्वासन दिएका छन् ।

कंकाल अवशेषहरू प्रहरीको निगरानीमा पुनः चिहानमै गाडिएको छ ।

Share News