नेपाल माईक्रो इन्स्योरेन्सका अध्यक्ष आशीष श्रेष्ठ पक्राउ

काठमाडौं । नेपाल माईक्रो इन्स्योरेन्स कम्पनीका अध्यक्ष आशिष श्रेष्ठलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको छ । 

बीमा सम्बन्धी ऐन, २०७९ अन्तर्गतको कसूरमा संलग्न रहेको अभियोगमा ४६ वर्षीय श्रेष्ठ पक्राउ परेका हुन् ।

नेपाल बीमा प्राधिकरणको आकस्मिक स्थलगत निरीक्षण प्रतिवेदनले कम्पनीमा गम्भीर अनियमितता भएको देखाएपछि प्राधिकरणले गत वैशाख ८ गते अनुसन्धानका लागि प्रहरीमा पत्राचार गरेको थियो । 

सोही प्रतिवेदनको निष्कर्ष र सुझावका आधारमा श्रेष्ठमाथि अनुसन्धान सुरु गरिएको हो।

उक्त निरीक्षण प्रतिवेदनमा नेपाल माईक्रो इन्स्योरेन्स कम्पनी समेतको संलग्नतामा बीमा ऐन, २०७९ को दफा १४० को उपदफा (१) को खण्ड (छ) बमोजिमको कसूर भएको उल्लेख गरिएको छ । 

वारदातमा संलग्नता देखिएपछि प्रहरीले काठमाडौं जिल्ला अदालतबाट वैशाख १४ गते पक्राउ अनुमति प्राप्त गरेको थियो । 

सोही अनुमति बमोजिम श्रेष्ठलाई आज वैशाख १५ गते काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका वडा नं. ५ बाट नियन्त्रणमा लिइएको हो । 

पक्राउ परेका श्रेष्ठमाथि हाल थप कानुनी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Share News