बीमा कम्पनीहरूले दाबीबापत तिरे ५१ अर्ब ५९ करोड, ५२ अर्ब भुक्तानी बाँकी

नेपाल बीमा प्राधिकरणको भवन ।

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को ९ महिना (साउन–चैत)सम्म बीमा कम्पनीहरूले ५१ अर्ब ५९ करोड ३५ लाख रुपैयाँ दाबी भुक्तानी गरेका छन् । सञ्चालनमा रहेका जीवन र निर्जीवन बीमा कम्पनीहरूले सो रकम बराबरको दाबी भुक्तानी गरेको नेपाल बीमा प्राधिकरणले जनाएको छ ।

अघिल्लो वर्ष यही अवधिसम्म बीमा कम्पनीहरूले ६२ अर्ब २२ लाख रुपैयाँ दाबी भुक्तान गरेका थिए । अघिल्लो वर्षको तुलनामा बीमा दाबी भुक्तानी १६.७९ प्रतिशतले घटेको छ ।

प्राधिकरणका अनुसार जीवन बीमा कम्पनीहरूले चैत्र मसान्तसम्ममा १ लाख ४४ हजार ३०६ वटा दाबीको ३१ अर्ब १० करोड ७३ लाख रुपैयाँ भुक्तानी गरेका छन् । यो गत आवको तुलनामा ३१.४५ प्रतिशतले घटेका छ । 

गत आवको चैत्र मसान्तसम्ममा बीमा कम्पनीहरुले २ लाख ८२ ८१० वटा दाबीको ४५ अर्ब ३७ करोड ९४ लाख रुपैयाँ भुक्तानी गरेका थिए । अघिल्लो वर्षको तुलनामा दाबी भुक्तानी रकम ३१.४५ प्रतिशतले घटेको छ ।

त्यसैगरी, चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा निर्जीवन बीमकहरूले १ लाख ११ हजार ७०७ वटा दाबीको २० अर्ब ४८ करोड ६२ लाख रुपैयाँ भुक्तानी गरेका छन् । 

अघिल्लो आवको सोही अवधिमा बीमा कम्पनीहरूले १ लाख १ हजार ७१३ वटा दाबीको १६ अर्ब ६२ करोड २८ लाख रुपैयाँ भुक्तानी गरेका थिए । अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा निर्जीवन बीमकहरूको दाबी संख्या र रकम क्रमशः ९.८३ प्रतिशत र २३.२४ प्रतिशतले बढेको छ ।

५२ अर्ब भुक्तानी बाँकी 

चैत्र मसान्तसम्ममा जीवन र निर्जीवन बीमा कम्पनीहरूले ५२ अर्ब ५२ अर्ब ७३ करोड ३२ लाख रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी रहेको देखिएको छ ।

जीवन बीमा कम्पनीहरूले मात्रै ६१  हजार ५१६ दाबीको ५ अर्ब ५७ करोड ३१ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ । त्यस्तै निर्जीवन बीमा कम्पनीहरूले  १ लाख १३ हजार ९४७ वटा दाबीको ४७ अर्ब १६ करोड १ लाख रुपैयाँ रहेको छ ।

Share News