काठमाडौं । वर्षाका कारण नेपालका मुख्य राजमार्गहरू प्रभावित भएका छन् ।
नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार लुम्बिनी र कोशी प्रदेशका सडकखण्डहरूमा आवागमनमा बाधा पुगेको छ ।
लुम्बिनी प्रदेशको प्युठान जिल्लामा बाढीका कारण भालुवाङ–प्युठान सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।
सरुमारानी गाउँपालिका- ४ स्थित खहरे भन्ने स्थानमा आज अपरान्ह ३ बजेदेखि बाढी आएपछि सडक अवरुद्ध भएको हो ।
सडक पूर्ण रूपमा बन्द भएपछि सो क्षेत्रमा चल्ने सवारीसाधन र यात्रुहरू बीचबाटोमै रोकिएका छन् ।
वर्षाको कारण सडक माथिबाट लेदो माटो आई सडकखण्ड अवरोध भएको हो । सडक खुलाउन सडक डिभिजन कार्यालय प्यूठानसँग समन्वय भइरहेको छ ।
यस्तै, कोशी प्रदेशको भोजपुर जिल्लामा पनि बाढीले मध्य पहाडी लोकमार्गमा क्षति पुर्याएको छ । भोजपुर नगरपालिका- ५, बोखिममा हाल वैकल्पिक बाटो प्रयोग गरी एकतर्फी रूपमा यातायात सुचारु गरिएको छ ।
प्रहरीले यात्रुहरूलाई यात्रामा निस्कनुअघि सडकको अवस्था बुझ्न र सावधानी अपनाउन अनुरोध गरेको छ ।
सडक अवरोधसम्बन्धी थप अपडेटका लागि नेपाल प्रहरीले आफ्नो आधिकारिक वेबसाइटमा सूचनाहरूसमेत उपलब्ध गराएको छ ।