प्यारामाउन्ट मोटर्सले ल्याउँदै वुलिंगका चार नयाँ विद्युतीय सवारी

काठमाडौं । नेपालका लागि वुलिंग मोटर्स (Wuling Motors) को आधिकारिक वितरक प्यारामाउन्ट मोटर्स प्रालिले नेपाली बजारमा आफ्नो विद्युतीय सवारी (ईभी) पोर्टफोलियोलाई थप विस्तार गर्ने घोषणा गरेको छ । कम्पनीले विश्वप्रसिद्ध अटोमोबाइल समूह एसआइसी जीएम वुलिंग (SAIC-GM-Wuling) को प्रविधि र साझेदारीमा निर्मित चार नयाँ मोडेलहरू छिट्टै नेपाल भित्र्याउने तयारी गरेको हो ।

सन् १९५८ देखि लामो इतिहास बोकेको तथा विश्वभर ३ करोडभन्दा बढी सवारी साधन उत्पादन गरिसकेको एसजीएमडब्लूको ‘वुलिंग’ ब्रान्ड किफायती र व्यावहारिक यात्राका लागि विश्वभर परिचित छ । नेपालमा पनि सन् २०२३ देखि आफ्नो प्रभाव विस्तार गर्दै आएको यस ब्रान्डलाई प्यारामाउन्ट मोटर्सले अब नयाँ तथा विविध उत्पादनमार्फत अझ आक्रामक रूपमा अघि बढाउने रणनीति लिएको जनाएको छ ।

कम्पनीका अनुसार पहिलो मोडेल ‘एक्सियन ईभी’ ७ सिटर प्रिमियम एसयूभी हुनेछ, जसलाई ठूला परिवारलाई लक्षित गरी ल्याइँदैछ । यसमा ६९.२ किलोवाट आवरको ‘म्याजिक ब्याट्री प्रो’ रहेको छ, जसले एक पटकको फुल चार्जमा ५३० किलोमिटरसम्मको रेन्ज प्रदान गर्छ । सुरक्षाका लागि ३६० डिग्री क्यामेरा र अत्याधुनिक एडास (ADAS) प्रणाली समावेश गरिएको छ ।

दोस्रो मोडेल ‘वुलिंग मिनी ईभी’ चार ढोकायुक्त कम्प्याक्ट कार हुनेछ, जुन सहरी क्षेत्रका लागि उपयुक्त मानिएको छ । ग्लोबल स्मल इलेक्ट्रिक भेहिकल (GSEV) आर्किटेक्चरमा आधारित यस कारले ३०१ किलोमिटरसम्मको रेन्ज दिनेछ । यसमा डीसी फास्ट चार्जिङ सुविधा पनि उपलब्ध हुनेछ ।

null

तेस्रो मोडेल ‘डेरियन एमपिभी’ ७ सिटर प्रिमियम गाडी हुनेछ, जसलाई लामो दूरीको यात्रा तथा विलासी अनुभवका लागि उपयुक्त विकल्पका रूपमा प्रस्तुत गरिएको छ । यसले ५४० किलोमिटरसम्मको रेन्ज दिनेछ भने स्लाइडिङ ढोका र आकर्षक आन्तरिक सजावट यसको मुख्य विशेषता रहनेछन् ।

चौथो मोडेल ‘बिङ्गो ईभी’ नेपाली बजारमा पहिलेदेखि लोकप्रिय ह्याचब्याकको नयाँ संस्करण हुनेछ । यो ३१.९ किलोवाट आवर (३३३ किमी रेन्ज) र ३७.९ किलोवाट आवर (४१० किमी रेन्ज) गरी दुई ब्याट्री विकल्पमा उपलब्ध हुनेछ । ५० किलोवाटको मोटर जडान गरिएको यस गाडीले ६७ हर्सपावर र १५० एनएम टर्क उत्पादन गर्नेछ ।

यसमा १०.२५ इन्चको डुअल इन्फोटेनमेन्ट स्क्रिन, ७९० लिटरसम्मको कार्गो स्पेस तथा एबीएस, ईबीडी र भेरियन्टअनुसार ६ वटासम्म एयरब्याग जस्ता सुरक्षा सुविधा उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

प्यारामाउन्ट मोटर्सले आफ्ना सबै वुलिंग मोडेलमा ८ वर्षको ब्याट्री वारेन्टी उपलब्ध गराउनेछ। यसले ग्राहकमा विद्युतीय सवारीप्रति थप विश्वास बढाउने कम्पनीको अपेक्षा छ ।

'हामी नेपाली ग्राहकको आवश्यकता र यहाँको भौगोलिक अवस्था सुहाउँदा अन्तर्राष्ट्रिय स्तरका सवारी साधन भित्र्याउन प्रतिबद्ध छौँ,' कम्पनीका प्रवक्ताले भने, 'नयाँ लाइनअपले नेपालको दिगो यातायातको लक्ष्यलाई थप टेवा पुर्याउनेछ ।'

यी नयाँ वुलिंग मोडेलहरू छिट्टै देशभरका आधिकारिक शोरुममार्फत उपलब्ध हुने कम्पनीले जनाएको छ ।

Share News