अस्पतालभित्र अनुमतिविना भिडियो खिच्न र अन्तर्वार्ता लिन रोक, उल्लंघन गरे कडा कारबाही हुने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पताल तथा स्वास्थ्य संस्थाहरूको सुरक्षा र बिरामीको गोपनीयतालाई ध्यानमा राख्दै नयाँ निर्देशन जारी गरेको छ ।

स्वास्थ्यमन्त्री नीशा मेहताले २०८३ वैशाख १६ गते जारी भएको आधिकारिक प्रेस विज्ञप्तिलाई कडाइका साथ लागू गर्न निर्देशन दिएकी हुन् ।

नयाँ व्यवस्था अनुसार अबदेखि अस्पताल परिसरभित्र सम्बन्धित स्वास्थ्य संस्थाको पूर्व-स्वीकृतिबिना फोटो वा भिडियो खिच्न पाइने छैन । 

पछिल्लो समय अन्तर्वार्ताका नाममा अस्पतालमा भिडभाड गर्ने, बिरामीको गोपनीयता हनन गर्ने र उपचारमा खटिएका स्वास्थ्यकर्मीको काममा अवरोध पुर्याउने गतिविधि बढेपछि मन्त्रालयले यस्तो कदम चालेको हो ।

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘बिरामीको गोपनीयता र स्वास्थ्यकर्मीको कार्यसम्पादनमा खलल पुग्ने गरी गरिने गैरकानुनी कार्यमा संलग्न जो कोहीलाईुमुलुकी अपराध संहिता २०७४ र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ बमोजिम कडा कारबाही गरिनेछ ।’

यस सम्बन्धमा आवश्यक कारबाही अगाडि बढाउन जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायहरूलाई समेत जानकारी गराइसकिएको छ ।

मन्त्री मेहताले उपचारको क्रममा कुनै पनि प्रकारको कमी-कमजोरी भएको महसुस भएमा वा चित्त नबुझेमा अस्पतालमा तोडफोड, होहल्ला वा अभद्र व्यवहार नगर्न आग्रह गरेकी छन् । 

उनले त्यस्ता समस्या समाधानका लागि कानुनी बाटो अपनाउँदै सम्बन्धित निकायमा तथ्यपरक उजुरी दिन सबै सरोकारवालाहरूलाई अनुरोध गरेकी छन् ।

यस निर्णयले अस्पतालहरूलाई थप सुरक्षित र मर्यादित बनाउनुका साथै बिरामीको उपचार प्रक्रियालाई थप व्यवस्थित बनाउने विश्वास मन्त्रालयले लिएको छ ।

null

Share News