काठमाडौं । भरतपुर महानगरपालिकाले अव्यवस्थित तार व्यवस्थापन तथा भवनको प्रयोजन परिवर्तनसम्बन्धी नियम पालना नगरे कारबाही गर्ने चेतावनी दिएको छ ।
महानगरले इन्टरनेट सेवा प्रदायक संस्थाहरूलाई वैशाख मसान्तभित्र तार व्यवस्थापन गर्न निर्देशन दिएको छ । यसअघि सरोकारवालासहितको बैठकले गरेको निर्णयअनुसार पत्राचार गरिए पनि हालसम्म कार्यप्रगति नदेखिएकाले पुनः सार्वजनिक सूचना जारी गरिएको महानगरले जनाएको छ ।
यस्तै, महानगर क्षेत्रभित्र रहेका भवनहरूको उपयोग परिवर्तन गर्नुअघि अनिवार्य रूपमा स्थानीय तहबाट स्वीकृति लिनुपर्ने व्यवस्था रहेको स्मरण गराइएको छ ।
‘भरतपुर महानगरपालिका भवन निर्माण सम्बन्धी आधारभूत मापदण्ड २०७२’ अनुसार स्वीकृति बिना उपयोग परिवर्तन गरेमा सेवा सुविधाबाट वञ्चित गरिनुका साथै सम्बन्धित निकायमार्फत थप कारबाही गरिने बताएको छ ।