लामिनारको ‘जर्मसेफ’ एन्टिब्याक्टेरियल टायल नेपाल मेडिकल शोमा सार्वजनिक

काठमाडौं । लामिनारले आफ्नो नयाँ उत्पादन जीवाणुरोधी टायल शृङ्खला ‘जर्मसेफ’ सार्वजनिक गरेको छ । भृकुटीमण्डपमा आयोजित नेपाल मेडिकल शो २०२६ को अवसरमा उक्त प्रविधि सार्वजनिक गरिएको हो ।

कम्पनीका अनुसार जर्मसेफको प्रभावकारिता राष्ट्रिय मान्यता प्राप्त परीक्षण प्रयोगशाला इन्टरटेक इन्डियाद्वारा अन्तर्राष्ट्रिय मापदण्डअनुसार स्वतन्त्र रूपमा परीक्षण गरिएको छ । परीक्षणमा ३.५८ को ‘आर मान’ प्राप्त भएको छ, जसले २४ घण्टाभित्र जीवाणुको मात्रा ९९.९ प्रतिशतभन्दा बढीले घट्ने देखाएको छ । अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त प्रयोगशालाबाट गरिएको परीक्षणले यसको उच्च जीवाणुरोधी क्षमता पुष्टि गरेको कम्पनीले जनाएको छ ।

जर्मसेफ टायल नेपाल गुणस्तर एनएस ६१७ अन्तर्गत पूर्ण भिट्रिफाइड वर्गमा उत्पादन गरिएको हो, जसको जलअवशोषण ०.०८ प्रतिशत वा सोभन्दा कम रहेको छ। यस प्रकारको घना र छिद्ररहित संरचनाले सूक्ष्मजीवहरू फैलिन र टिक्न नदिने बताइएको छ । कम्पनीका अनुसार जर्मसेफमा प्रयोग गरिएको जीवाणुरोधी तत्व उत्पादनकै क्रममा टायलको सतहमा उच्च तापमा स्थायी रूपमा समावेश गरिएको हुन्छ, जसले दीर्घकालसम्म यसको प्रभाव कायम रहने दाबी गरिएको छ ।

यो शृङ्खला म्याट र चम्किलो सतहका ग्लेज्ड भिट्रिफाइड टायल तथा फुल-बडी समरूप ढाँचामा उपलब्ध छ । विशेषगरी अस्पताल, क्लिनिक, परीक्षण प्रयोगशाला, व्यावसायिक भान्सा, होटललगायत उच्च सरसफाइ आवश्यक पर्ने स्थानका साथै घरायसी प्रयोगका लागि पनि उपयोगी हुने कम्पनीले जनाएको छ ।

लामिनारका प्रबन्ध निर्देशक आशुतोष खेतानले जर्मसेफमार्फत नेपालमै उत्पादन भएको अन्तर्राष्ट्रिय मापदण्डअनुसार परीक्षण गरिएको भरपर्दो जीवाणुरोधी सतह समाधान प्रस्तुत गर्न पाउँदा गर्व लागेको बताए । उनले यसले नेपाली निर्माण क्षेत्रमा विश्वस्तरको गुणस्तर स्थापित गर्ने प्रतिबद्धता थप सुदृढ बनाउने विश्वास व्यक्त गरे ।

कम्पनीका अनुसार जर्मसेफ टायल प्राविधिक विवरण तथा विभिन्न परियोजनाका लागि तत्काल उपलब्ध रहेको छ । नेपाल मेडिकल शो अवधिभर कम्पनीको प्राविधिक टोली स्थलमै उपस्थित भई स्वास्थ्यकर्मी, परियोजना परामर्शदाता तथा संस्थागत खरिदकर्तालाई आवश्यक जानकारी उपलब्ध गराउने जनाएको छ । 

Share News