काठमाडौं । जेपी मोर्गन चेसले आफ्नी महिला कार्यकारी लोर्ना हाज्दिनीविरुद्ध यौन दुव्र्यवहार र दबाब दिएको आरोप लगाउँदै पूर्वपुरुष कर्मचारीले दायर गरेको कानुनी मुद्दाको सामना गरिरहेको छ ।
सञ्चारमाध्यम न्यू योर्क पोस्टका अनुसार ३५ वर्षीय चिरायु रानाले हाज्दिनीले आफूलाई यौन रूपमा आक्रमण गर्ने प्रयास गरेको र यौन क्रियाकलाप गर्न दबाब दिएको दाबी गरेका छन् ।
आफ्नो इच्छाअनुसार काम नगरे जीवन बर्बाद गरिदिने धम्की दिएको पनि आरोप छ ।
रानाका अनुसार हाज्दिनीले उनलाई र उनकी श्रीमतीलाई जातीय अपशब्द प्रयोग गरेर सम्बोधन गरेकी थिइन् ।
यता जेपी मोर्गनले भने आन्तरिक छानबिनपछि सबै आरोपहरू अस्वीकार गरेको छ ।
‘छानबिनपछि यी दाबीहरूमा कुनै आधार रहेको हामीले विश्वास गरेका छैनौं,’ बैंकका प्रतिनिधिहरूले न्यु योर्क पोस्टलाई भनेका छन्, ‘धेरै कर्मचारीहरूले छानबिनमा सहयोग गरे पनि उजुरीकर्ता स्वयं सहभागी हुन अस्वीकार गरे र आफ्ना आरोपलाई समर्थन गर्ने महत्वपूर्ण तथ्यहरू उपलब्ध गराउन पनि इन्कार गरे ।’
न्यु योर्क पोस्टले यो पनि उल्लेख गरेको छ कि राना हाज्दिनीका अधीनस्थ कर्मचारी थिएनन् । उनीहरू केवल ऋण(आधारित वित्तपोषण टोलीमा सँगै काम गर्ने सहकर्मी मात्र थिए । हाज्दिनीका केही समर्थकहरूले यो तथ्यले मुद्दालाई कमजोर बनाउने बताएका छन् ।
‘हाज्दिनीको छविमा पूर्ण रूपमा मनगढन्ते आरोप लगाएर धब्बा लगाइएको छ,’ हाज्दिनी नजिकका एक स्रोतले न्यु योर्क पोस्टलाई बताएका छन् ।