रोल्पा जीप दुर्घटनाप्रति रास्वपाद्वारा दुःख व्यक्त

काठमाडौं । रुकुम पूर्वबाट रोल्पाको थवाङतर्फ जाँदै गरेको जीप दुर्घटनामा परी भएको ठुलो मानवीय क्षतिप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गहिरो दुःख व्यक्त गरेको छ ।

शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै पार्टीले मृतकहरूप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको हो । 

बिहीबार रुकुम पूर्वबाट रोल्पाको थवाङ गाउँपालिका-१, जलजलातर्फ जाँदै गरेको लु १ ज ४१६७ नम्बरको जीप दुर्घटनामा परेको थियो । उक्त जीप सडकबाट करिब ७००-८०० मिटर तल भिरमा खसेको थियो । 

विकट भूगोल र चुनौतीपूर्ण परिस्थितिका बाबजुद उद्धारमा खटिएका सुरक्षा निकाय र स्थानीय टोलीको साहस र समर्पणको रास्वपाले सम्मान गरेको छ ।

यस हृदयविदारक घटनाले नेपालको सडक सुरक्षाको अवस्थामाथि पुनः गम्भीर प्रश्न उठाएको पार्टीको ठहर गरेको विज्ञप्तिमा भनिएको छ । 

दुर्घटना न्यूनीकरणका लागि नीतिगत सुधार, सडक अनुशासनको कार्यान्वयन र पूर्वाधार विकासमा दृढताका साथ अघि बढ्ने रास्वपाले जनाएको छ ।

‘यस्ता दुर्घटनाहरू केवल तथ्यांक मात्र होइनन्, यी हाम्रा नागरिकको जीवनसँग जोडिएका संवेदनशील वास्तविकता हुन् । नागरिकको सुरक्षालाई सर्वोच्च प्राथमिकतामा राख्दै जिम्मेवार कदम चाल्नु अपरिहार्य छ,’ विज्ञप्तिमा भनिएको छ । 
 

Share News