सुकुम्बासी राख्न विद्युत प्राधिकरणको होस्टेल खाली गरिँदै, तालिमहरू स्थगित

काठमाडौं । सरकारले सुकुम्बासी व्यवस्थापनका लागि प्रयोग गर्ने तयारी गरेपछि नेपाल विद्युत प्राधिकरणले भक्तपुरको खरिपाटीस्थित आफ्नो तालिम केन्द्रका होस्टेलहरू खाली गर्न निर्देशन दिएको छ ।

प्राधिकरणको तालिम व्यवस्थापन विभागका निर्देशक मोतीलाल महताराले शनिबार एक सूचना जारी गर्दै होस्टेलमा बसिरहेका प्रशिक्षार्थीहरूलाई शनिबार अर्थात् वैशाख १९ गते साँझ ५ बजेभित्र कोठा खाली गर्न भनेका हुन् । 

होस्टेल खाली गराएसँगै प्राधिकरणले हाल सञ्चालन भइरहेका र आगामी दिनमा तय भएका तालिमहरू समेत स्थगित गरेको छ । प्राधिकरणका अनुसार वैशाख २० गतेदेखि सञ्चालनमा रहेका सम्पूर्ण तालिमहरू अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ । वैशाख २४ गतेदेखि सुरु हुने भनिएको ‘तह चार फोरमेन’ पदको तालिम पनि हाललाई रोकिएको छ ।

सरकारले सुकुम्बासी व्यवस्थापनका लागि अस्थायी रूपमा बस्ने ठाउँ उपलब्ध गराउन पत्राचार गरेपछि प्राधिकरणले यो कदम चालेको हो । सूचनामा भनिएको छ, ‘सरकारले सुकुम्बासी व्यवस्थापनका लागि होस्टेल उपलब्ध गराउन पत्राचार गरेको हुँदा होस्टेल प्रयोग गरिरहनु भएका प्रशिक्षार्थीहरूले २०८३ वैशाख १९ गते अपराह्न ५ बजेसम्म कोठा खाली गरिदिन हुन जानकारी गराइन्छ । ’

प्राधिकरणले खरिपाटीमा आफ्ना कर्मचारीहरूका लागि नियमित रूपमा विभिन्न प्राविधिक तथा प्रशासनिक तालिमहरू सञ्चालन गर्दै आएको थियो । अचानक होस्टेल खाली गर्नुपर्ने भएपछि चालू अवस्थामा रहेका तालिमहरू प्रभावित भएका छन् । 

null

Share News