अनुसन्धानमा तानिएपछि हिमालयनका सीईओ राणा बर्खास्त

काठमाडौं । हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुमेर शमशेर ज.ब. राणा बर्खास्त भएका छन् । कम्पनीको सञ्चालक समितिको वैशाख १७ गते बसेको बैठकले उनलाई सोही दिनदेखि लागू हुने गरी पदमुक्त गर्ने निर्णय गरेको हो ।

कम्पनीका अध्यक्ष कपिल दाहालका अनुसार सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान अघि बढेपछि सञ्चालक समितिले यस्तो निर्णय गरेको हो।  सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले राणामाथि अनुसन्धान गरिरहेका छन् ।

व्यवसायी दीपक भट्टसँगको सेयर कारोबारमा कम्पनीअन्तर्गत सञ्चालित ‘एचएलआई लार्ज क्याप फन्ड’बाट करिब २५ करोड १४ लाख रुपैयाँ प्रयोग गरिएको तथ्य बाहिरिएपछि उनी अनुसन्धानको घेरामा परेका हुन् । सोही प्रकरणमा अनुसन्धान प्रक्रिया अघि बढेपछि उनलाई पदबाट हटाइएको जनाइएको छ ।

भारतको पुणेस्थित सिम्बायोसिस इन्स्टिच्युट अफ बिजनेस म्यानेजमेन्टबाट एमबीए गरेका राणासँग १७ वर्षको बैंकिङ अनुभव तथा २ वर्षको मर्चेन्ट बैंकिङ अनुभव रहेको थियो ।

Share News